शुक्रबार, वैशाख ७, २०८१

सचिवालय बैठकका लागि अध्यक्ष ओलीसँग आग्रह

नेपालखोज २०७७ कार्तिक २२ गते २०:१८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतृत्वबीच पार्टीको आन्तरिक जीवन तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक जीवनमा उठेका विभिन्न प्रश्नको निरुपणका लागि सचिवालयको बैठक बोलाउने विषयमा शीर्ष नेतृत्वबीच कुराकानी भएको जानकारी दिए । उनले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेटेर लिखित रुपमा नै सचिवालय बैठकका लागि आग्रह गरिएको बताए ।

कोरोना महामारी र त्यसले पैदा गरेको स्वास्थ्य तथा आर्थिक सङ्कट, स्थायी कमिटीको गत बैठकका निर्णयको कार्यान्वयनको समीक्षा र पार्टीमा पछिल्ला दिनमा देखिएका सङ्कटलगायत विषयमा छलफल गर्न सचिवालयको बैठक जरुरी रहेको आफूहरुको जोड रहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा शुक्रबार बसेको सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले सचिवालय बैठकका लागि सामूहिक रुपमा अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया