शुक्रबार, वैशाख १४, २०८१

३९१ औँ हप्तामा वाग्मती सफाइ महाभियान

नेपालखोज २०७७ कार्तिक २२ गते २२:२८

काठमाडौं । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान ३९१ हप्तादेखि जारी छ । सफाइ महाभियानको ३९१ औँ हप्तामा आज पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ ।

सफाइमा काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलगायत अभियानकर्मीको सक्रियता थियो । यसैगरी शङ्खमूल क्षेत्रमा भएको सफाइमा अभियानकर्मी डा. लक्ष्मी पौडेलको नेतृत्वमा त्यस क्षेत्रको नदी किनार सडकको सफाइ गरिएको थियो ।

कुहिने र नकुहिने फोहरमा वर्गीकरण व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले सुनाए । त्यसैगरी गुह्येश्वरी माथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर र पश्चिमखण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाको व्यवस्थासहित सफाइ अभियान चलाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएदेखि चाडपर्व, वर्षा हिउँद, भूकम्पको त्रास, कोरोना भाइरसको महामारी जस्ता बेलामा पनि सफाइ अभियानले निरन्तरता पाउँदै आएको छ । चैतदेखि कोरोना महामारीबाट बच्न जारी बन्दाबन्दीका बेला पनि नदी किनार नजिक आवास भएका अभियानकर्मीले सफाई महाअभियानलाई निरन्तरता दिँदै आएका छन् ।

नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने आ आफ्नो टोल सफाइसहित कोरोनाबाट बच्न जारी स्वास्थ्य सुरक्षाका विधिसँगै चेतना फैल्याउने काममा समेत सघाउ पु¥याउँदै आएका छन् । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा सफाइ अभियान जारी छ । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म सफाइ अभियान हुने गरेको छ ।

सफाइ महाभियान शुरु भएको सात वर्ष भए पनि उपत्यकाका मुख्य नदीको आशातीत सफा हुन नसकेको स्थानीयवासीको गुनासो छ । सफाइमा स्थानीयवासी एवं स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान नसकेको अभियानकर्मीको गुनासो छ ।

प्रतिक्रिया