शुक्रबार, वैशाख १४, २०८१

चाडपर्व लक्षित गरी माटोको भाडा बनाउन व्यस्त

नेपालखोज २०७७ कार्तिक २३ गते १४:११

सुनसरी । नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी जिल्लाकाे सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त काही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहज उपलब्ध गराउने ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकारले स्थानीयवासीको चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीयवासी श्रीप्रसाद पण्डितले बताए । कुम्भकार समुदायले दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहित विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ । यहाँ भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गरेका छन् । एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।

नजीकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाे छ । दिपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिका रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडाहरु बनाउने रहेकाले अहिले सो कार्यक्रमा व्यस्त बनेको छन् ।

आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए । कोरोना महामारीका बेलामा चाडपर्व लक्षित माटोको भाँडा निर्माण गरेको भए पनि बिक्री हुने कि नहुने भने चिन्ताले सताएको छ । वार्षिक रुपमा रु १ लाखदेखि १ लाख ५० हजारसम्मको माटोको भाँडाबाट आम्दनी गर्दै आएकामा यस पटक सोचेअनुसारको आम्दनीसमेत हुन नसकेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितको भनाइ छ । प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाँडोहरु बनाई गाउँघरदेखि शहरसम्म बेच्न लाने गरेका छन् ।

प्रतिक्रिया