मंगलबार, वैशाख ४, २०८१

प्रशासकीय प्रमुखको विवादमा उपप्रमुखसहित आठ सदस्यबाट बैठक बहिष्कार

नेपालखोज २०७७ कार्तिक २३ गते २१:१८

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले विवादका बीच प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई सङ्घीय मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको छ ।

नगरपालिकाको आजको कार्यपालिका बैठकमा ११ जना सदस्यले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई तत्काल मन्त्रालय फिर्ता गरी अर्को प्रशासकीय अधिकृत पठाउन आग्रह गरेको हो ।बैठकमा कूल १९ जना सदस्यमध्ये उपप्रमुख अन्जनादेवी मधिकर्मीसहित आठ कार्यपालिका सदस्य अनुपस्थित थिए ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष राम थापाले बैठक वैधानिक नभएको आरोप लगाउँदै प्रशासकीय प्रमुखलाई फिर्ता नपठाइएको जिकिर गरे । बैठकपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरसभाबाट विनियोजित बजेट र उपभोक्ता समितिमार्फत भइरहेका कार्यमा असहयोग गरेकाले फिर्ता पठाउन आग्रह गरिएको जानकारी दिए ।

उनले रिजालले नगरपालिकाको आन्तरिक राजनीतिमा सहभागी भई बजेट र कार्यक्रम रोक्ने, नगरपालिकाका आन्तरिक दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाएर सामाजिक सञ्जालमा हाल्न लगाउने, वडाध्यक्षलाई फोन गर्दै प्रमुखलाई घेराबन्दीमा पार्न उक्साउने गरेको आरोप लगाए ।

प्रशासकीय अधिकृत रिजालले भने सरकारले नै महामारीमा घरमा बसेर काम गर्नु भनेकाले घरमै बसेर काम गरेको बताउँदै नगरपालिकामा उपभोक्ता समितिमार्फत काम गर्ने गरी कार्यविधि नबनेकाले भुक्तानी नदिइएको जवाफ दिएका छन् ।

प्रतिक्रिया