बिहीबार, चैत १५, २०८०

मेस्सीले जनवरीमा बार्सिलोना नछाड्ने

नेपालखोज २०७७ मंसिर ५ गते १२:०२

एजेन्सी । बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी क्लब छाड्न सक्ने सम्भावनाको चर्चा रोकिएको छैन । सिजनको सुरुवातमै क्लब छाड्न पत्राचार समेत गरिसकेका मेस्सी थप विवादमा जानु भन्दा सम्झौता रहँदा सम्म बस्न तयार भएका थिए ।

जनवरीको सुरुवातमा मेस्सीले नयाँ क्लब जान सक्ने चर्चा पनि सुरु भइसकेको छ । तर, बार्सिलोनाको अहिलेको कामचलाउ कमिटीले मेस्सीलाई बेच्न नसक्ने बताइएको छ । जोसेप मारिया बोर्टेमेउले गत महिना अध्यक्षबाट राजीनामा दिएपछि कामचलाउ समितिले क्लबको दैनिक काम हेर्दै आएको छ ।

अहिलेको कामलचाउ समितिसँग सिमित मात्र अधिकार रहने भएकाले ठूलो सरुवाको निर्णय गर्न नसक्ने बताइएको छ । जसका कारण मेस्सी विक्रीको सम्भावना न्यून रहेको छ । मेस्सी अहिले पनि क्लबसँग खुसी नरहेको बताइन्छ ।

जनवरीमा भने मेस्सीले क्लब छाड्ने सम्भावना कम रहेको छ । अन्तरिक बोर्डले दैनिक काम र कम अधिकार मात्र प्रयोग गर्न पाउनेछ, बार्सिलोनाको नियममा उल्लेख छ । यद्दपी सञ्चारमाध्यमहरुका अनुसार प्रिमियर लिग टोली म्यानचेस्टर सिटीले अर्जेन्टिनी प्लेमेकरका लागि ५० देखि ६० मिलियन युरोको प्रस्ताव राख्न सक्ने उल्लेख गरेका छन् ।

गत सिजन च्याम्पियन्स लिगमा बायर्न म्युनिख सँग क्वार्टरफाइनलमा ८–२ को हारपछि मेस्सीले क्लब छाड्ने व्यापक चर्चा चलेको थियो । क्लबसँग थप मनमुटाव नगर्ने निर्णय गर्दै मेस्सी यो सिजन रहन बस्न तयार भए । यो सिजन मेस्सी वा बार्सिलोनाले सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन । बार्सिलोना गत सिजन उपाधि विहिन भएको थियो ।

प्रतिक्रिया