बिहीबार, चैत १५, २०८०

भोको बसेर कोरोनाको उपचार

नेपालखोज २०७७ मंसिर १० गते १४:३४

चितवन । यहाँ सञ्चालित आइसोलेशनमा रहेका ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिको विधिबाट उनीहरु निको भएर घर फर्किएका छन् ।

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरीमा सञ्चालित आइसोलेशनमा रहेकालाई डा. हेमराज कोइराला नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ । कोइरालाका अनुसार उपवास गर्दा व्यक्तिले निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गर्छ ।

आधुनिक चिकित्सा विज्ञानमा पनि उपवास गरेर अनेक असाध्य रोग जित्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाइसकेको उनको भनाइ छ । सन् २०१६ मा जापानका वैज्ञानिक यासुनुरी यसुमीलाई उपवास फिजियोलोजीमा गरेको महत्वपूर्ण खोज एवं अनुसन्धानका कारण नोबेल पुरस्कारद्वारा सम्मान गरिएको जनाइएको छ ।

अधिकांश भाइरस सङ्क्रमणको औषधि भनेकै प्रतिरक्षा प्रणालीको सशक्तीकरण नै भएको बताउँदै उनले भने,“उपवास यस्तो फिजियोलोजीकल विधि हो, जसको विधिवत् प्रयोग गर्न जाने प्रतिरक्षा प्रणालीलाई तुरून्त सशक्त बनाइदिन्छ र कोभिड–१९ जस्तो घातक रोगबाट बचाउँछ ।”

कोभिड–१९ मा सरल तरिकाले गर्न सकिने भनेको आवधिक उपवास हो । सङ्क्रमितले २४ घण्टाको समयलाई आठ घण्टा खाना खाने समय र १६ घण्टा भोकै बस्ने समय भनेर छुट्याएको हुन्छ । यसरी छुट्याउँदा बिहान ९:०० देखि साँझ ५:०० बजेसम्मको अविधिलाई खाना खाने समय र साँझ ५:०० देखि बिहान ९:०० बजेसम्मको अवधिलाई भोकै बस्ने समय भनेर छुट्याउँदा राम्रो हुने डा. कोइराला बताउछन्। आइसोलेशनमा त्यहीअनुरुप तालिका बनाएर खाना खाने र उपवास बस्ने व्यवस्था गरिएको छ ।

उनले भने,“यसमा ८-१६ को समयलाई ६-१८ र विस्तारै बढाएर ४-० पनि गर्न सकिन्छ । यसरी खाना खाने र भोकै बस्ने अवधि छुट्याएर उपवास बस्दा खाना खाने अवधिमा भने प्रशस्त मात्रामा पौष्टिक तत्व लिनुपर्ने हुन्छ ।” खानामा विशेषतः उच्च रेशा र चोकर भएको, झोलिलो, प्रशस्त भिटामिन एवं एण्टिअक्सिडेण्टयुक्त खाना खानुपर्ने उनको सुझाव छ ।

उनका अनुसार हाम्रो शरीरमा विद्यमान कोषमा दैनिक हजाराैँ जैविक रासायनिक क्रिया भइरहेका हुन्छन् । ती क्रियाको उपजस्वरूप कोषमा अनेकौँ प्रकारका काम नलाग्ने, विषाक्त एवं उत्परिवर्तित रसायनको उत्पादन पनि भइरहेको हुन्छ । ती रसायनका साथै काम नलाग्ने कोषीय अङ्ग वा बाहिरबाट आएका रोगकारक जीवाणु, विषाणु, ढुसी वा परजीवीले पनि कोषलाई क्षति पुर्याउने उनको भनाइ छ ।

शरीरको कोषमा उपवासका कारण खाना नभएपछि ऊर्जास्तर घट्दै जान्छ । त्यस्तो अवस्थामा शरीरमा रहेका काम नलाग्ने तर पचाउन सकिने भाइरस, प्रोटिन जस्ता वस्तुलाई पचाएर शरीरले ऊर्जा लिने उनको भनाइ छ । यसरी नै उपवासका माध्यमबाट वागेश्वरीको आइसोलेशनमा रहेका सङ्क्रमितको सफल उपचार गरिएको डा. कोइराला बताए।

त्यहाँ लक्षण देखिएका बिरामीको उपचार गरिँदै आएको छ । भरतपुर महानगरपालिकाले भदौ १४ गतेखि सञ्चालन गरेको उक्त आइसोलेशनमा हाल १३ सङ्क्रमित छन् । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आइसोलेशन सञ्चालनमा लाग्ने सबै खर्च महानगरले व्यहोर्दै आएको छ । हाल उपवास विधिबाट देशकै नमूना आइसोलेशनका रुपमा यहाँ सङ्क्रमितको उपचार भइरहेको उनको भनाइ छ । दाहालका अनुसार महानगरपालिकाले समिति निर्माण गरी त्यसको व्यवस्थापन गर्दै आएको छ ।

प्राकृतिक चिकित्सा विधिबाट आइसोलेशन सञ्चालनपूर्व महानगरपालिकाले नेपालमै पहिलो पटक कोरोना अस्थायी अस्पताल निर्माण गरी सङ्क्रमितको उपचार शुरु गरेको थियो । सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिएपछि महानगरले वागेश्वरीमा आइसोलेशन सञ्चालन गरेको हो । त्यहाँ महानगरपालिकाका बासिन्दालाई सबै निःशुल्क हुने गरी उपचार गरिएको दाहालको भनाइ छ ।

प्रतिक्रिया