बिहीबार, चैत १५, २०८०

हिन्दु राष्ट्रको पक्षमा

नेपालखोज २०७७ मंसिर १२ गते १९:५७

हिन्दु हिन्दूश्च पुंसि द्वौ दुष्टानां च विघर्षणे । अर्थात् हिन्दु, हिन्दू यी दुई शब्द पुंलिङ्गमा छन्, दुष्टहरुको विनासको लागि पर्याप्त छन् । नेपाल पहिले हिन्दु राष्ट्र थियो आज धर्म निरपेक्ष राष्ट्रको रुपमा चिनिएको छ । धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न न कुनै विधि अपनाइयो न कुनै प्रकृया । जनआन्दोलनमा जनताले माग गरेको मुद्दा त्यो थिएन । न त जनआन्दोलनको मर्म नै त्यो थियो । न संवैधानिक तवरले यसको घोषणा भयो । पश्चिमा हरियो डलरमा बिकेका दलालहरुको झुण्डले निहित स्वार्थ पूर्ति गर्न गैर संवैधानिक तरिकाले हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो । ती दलालहरुका पनि पाल्तु मानिएका स्वघोषित विद्वानहरु दिनरात धर्म निरपेक्ष राष्ट्रको वकालतमा व्यस्त छन् । दलालहरुको पनि भरौटे हुनुमा तिनलाई के मजा आउँछ कुन्नि ? तिनको बुद्धि देखेर कुरीकुरी भन्न मन लाग्छ ।

आजको जुन नेतृत्वको सरकार छ त्यो राजासँग यति भयवित रहेछ की हिन्दु राष्ट्रको वकालत गर्ने हरेक मान्छेलाई ऊ राजावादी देख्छ । या पश्चगामी भनेर पन्छाउँछ । महाशय ! हरेक हिन्दुराष्ट्रको वकालत गर्ने नागरिक राजावादी छैनन् । जनआन्दोलनमा घरघरबाट सडकमा राजा विरुद्ध नारा लगाउने तिनै जनता हुन् जो आज हिन्दु राष्ट्रको वकालत गरिरहेछन् ।

संविधानमा बहुसङ्ख्यक हिन्दुहरुको आवाज समेटिएन न त जनमत संग्रह नै गरियो । उल्टै हिन्दु राष्ट्रको माग गर्ने नागरिकलाई राजावादीको हुल भनेर तिरस्कार गरियो । यस किसिमको लाचार सरकारबाट जनताले न्याय पाउँछन् भनेर विश्वास गर्नू आकाशको फल आँखा तरी मर भन्नुुसरह हो ।

नेपालमा आज क्रिश्चियन समाजको प्रभाव ह्वात्तै बढेको छ । यो हुनुमा विभिन्न परोपकारी काम गर्ने नाममा नेपाल छिरेका पश्चिमा गैरसरकारी संस्थाहरुको हात छ । उनीहरु नेपालमा परोपकारको नाममा धर्मको व्यापार गरी हिँडेका छन् । तर सरकार र नेतृत्ववर्ग ती गैरसरकारी संस्थाबाट मोटो रकम पाउने कारण कानमा तेल हालेर बसेको छ ।

आज नेपाली केही दाजूभाइ तथा दिदी बहिनीहरु तिनै पश्चिमा दलालहरुबाट परिचालित भएर दशैं बहिष्कार, तिहार बहिष्कार भन्दै आन्दोलन गर्दछन् । नेपालीदेखि नेपालीलाई नै घृणा गर्ने वातावरण बनाएर पश्चिमाहरु नेपालमा के चाहन्छन् भन्ने कुरा बेलैमा होश नपुगे ठूलो क्षति मुलुकले व्यहोर्नु पर्ने हुन सक्छ ।

उदेक लाग्दो कुरा नेपालको सरकारको ध्यान पशुपतिनाथमा चढाएको दक्षिणा भेटीमा पुग्छ तर क्रिश्चियन समुदायको लालचमा परेर धेरै नागरिकको घरबारी र सम्पत्तिको नाश भएको छ । तिनीहरु हरेक दिन मिडियामा आएर रोइरहेका छन् । तिनलाई न्याय दिन र भ्रष्ट पादरीहरुलाई कारबाही गर्न सरकारको आँखा पुग्दैन ।

महान् गणितज्ञ आर्यभट्ट, भारद्वाज विमान शास्त्रका रचयिता भारद्वाज एवं विमानशास्त्रका रचयिता मयदानव आदिलाई पढ्न र बुझ्न आज हामी अंग्रेजी भाषाको सहायता लिनुपर्ने अवस्थामा पुगेका छौं । पश्चिममा संस्कृत भाषा र तिनको ज्ञान विज्ञान प्रयोग गर्न ठूलो धनराशिको खर्च गर्न थालिएको छ । भोलिका दिनमा हाम्रा दरसन्तानहरु पश्चिमी विद्वान्हरुबाट मात्र दिक्षित हुन सक्ने अवस्था आउन सक्छ । छिमेकी मुलुकमा संस्कृत भाषाको ज्ञान आधारभूत तहबाटै दिन थालिएको छ । तर हाम्रोमा विनासकाले विपरित बुद्धि भनेझैं सुधार भएका चीजहरुलाई पनि भत्काउने काम भएको छ ।

बाबुराम भट्टराई नामका एक प्रगतिशील भनिने नेता सामाजिक सञ्जाल टुइटरमा संस्कृत भाषमा अनेक नीतिका श्लोक तथा पञ्चतन्त्रका कथाहरुको प्रयोग गरिरहन्छन् र तिनी संस्कृत शिक्षाको विरोधी हुन् । उनलाई लाग्दो हो अरु मानिसले संस्कृत पढे भने आपूmभन्दा बाठो हुनेछन् र आपूmलाई तर्कमा जित्नेछन् । नभए स्वयं प्रयोग गरीगरी तिनी किन संस्कृत शिक्षाको विरोध गर्दथे ? धर्मनिरपेक्ष, धर्मनिरपेक्ष भनेर कुर्लने मध्ये एक पश्चिमी एजेन्ट यिनी पनि हुन् ।

धर्मनिरपेक्षता मुलुकलाई परजीवी बनाउने एउटा ग्रान्ड डिजाइन बाहेक केही थिएन । भ्याटिकन सिटी सम्पूर्ण क्रिश्चियनको तीर्थस्थल हुन सक्छ भने नेपाल सम्पूर्ण हिन्दुहरुको तीर्थस्थल हुन किन सक्दैन ? नेपाल यदि हिन्दु राष्ट्र रहन्थ्यो भने पक्कै पनि विश्वभरिका हिन्दुहरुको तीर्थस्थल भई भविष्यमा धार्मिक पर्यटनमार्फत् राम्रो मुनाफा कमाउन सक्ने कुरामा दुई मत छैन । मुलुकको भन्दा स्वयं र कुर्सी, पद, प्रतिष्ठालाई सर्वस्व ठान्ने कलङ्कहरुबाट हामीले हिन्दु राष्ट्र फिर्ता पाउन सक्दैनौं नै । विभाजन गरेर रुल गर्न पल्किएका तिनका चस्माले हिन्दु राष्ट्रका हिमायती सबैलाई राजावादी या पश्चगामी देख्नु स्वाभाविकै हो ।

मुलुकलाई एकसूत्रमा बाँध्न र मुलुकलाई जोगाउन हामी स्वार्थ रहित भएर हिन्दुराष्ट्र निर्माणमा सहभागी हुनैपर्छ । यदि यसो नगर्ने हो भने आगामी दिनमा मुलुकले धार्मिक तथा सांस्कृतिक क्षति व्यहोनु पर्दछ । हाम्रा साँस्कृतिक मान्यताका चाडपर्व, मौलिक संस्कृति, जात्रा एवं मठमन्दिरहरु देशका गहना हुन् । यी रहे मात्र हाम्रो मौलिकता रहन्छ । यी सबै हिन्दु धर्मभित्रका अंगहरु हुन् । यिनै मौलिकतालाई हेर्न पर्यटक हाम्रो देशमा आउने हुन् । यी मौलिकता नरहे सिमेन्टका चर्च हेरेर थाकेका पर्यटक पक्कै पनि हामीकँहा चर्च हेर्न आउने छैनन् । यो भयावह स्थितिको चेतना हामीलाई भएन भने मुलुकको आगामी दिनहरु अझै भयावह हुनेवाला छ । हामी सबै नेपालीले एकपटक सोच्नै पर्ने समय आएको छ ।

प्रतिक्रिया