मंगलबार, चैत ६, २०८०

नेकपा सचिवालय बैठक आज बस्दै, प्रचण्डका सबै प्रश्नको उत्तर दिने ओलीको तयारी

नेपालखोज २०७७ मंसिर १३ गते ८:३१

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्नो प्रस्ताव राख्न लागेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले ओलीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताएका छन् ।

ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने तयारी गरेका छन् । पार्टीभित्र आरोपप्रत्यारोप बढ्दै गर्दा प्रधानमन्त्रीको जवाफी प्रतिवेदन र सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि त्यसमाथि अध्ययनका लागि एक(दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।

नेताहरुकाअनुसार यससबीचमा संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास हुनेछ । सहमति भएन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गराउने प्रचण्ड(नेपाल समूहको तयारी छ । अघिल्लो सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् ।

पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भएर नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

प्रतिक्रिया