बुधबार, वैशाख २६, २०८१

सडकबाट बेसहाराको उद्धार तीव्र

नेपालखोज २०७७ मंसिर १३ गते १८:३८

काठमाडौं । काठमाडौं उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो ।

उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमकाअनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त अभियान सञ्चालन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सडकका कोही भोकै रहँदैन, भोकले कोही मर्दैन त्यसको जिम्मा सरकारले लिन्छ भनेर यसअघि नै घोषणा गरिसकेका छन् । सोही योजनाअनुसार यो वर्षभित्रै काठमाडौं उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने तयारी थालिएको छ ।

आश्रमका प्रवक्ता सुमन बर्तौलाले काठमाडौं, ललितपुर र भक्तपुरमा रात्रीकालीन र दिउँसोमा समेत उद्धार अभियान थालिएको जानकारी दिए । सोही अभियानका क्रममा पछिल्लो एक हप्तामा मात्रै १५ जनाको सडकबाट उद्धार गरिएको छ । उनीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरको आश्रममा लगेर राखिएको छ ।

“गत वर्ष नै उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने योजना कोरोनाका कारण सफल हुन सकेन, अब छिट्टै घोषणा गर्ने गरी काम थालिएको छ”, प्रवक्ता बर्तौलाले भने। घोषणाका लागि काठमाडौँ महानगरलगायत विभिन्न स्थानीय तह, सङ्घीय सरकारका सरोकार राख्ने मन्त्रालयसँग समन्वय भइरहेको जनाइएको छ ।

काठमाडौं उपत्यकामा सहयोगापेक्षी सडक मानव न्यून रहे पनि पेशेबर मगन्तेका कारण समस्या भइरहेको छ । उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण छ । सरकारले आगामी विसं २०७८ भित्र मुलुकलाई नै बेसहारा सडक मानव मुक्त बनाउने योजनाअघि सारेको छ । आश्रमले अहिले मुलुकका विभिन्न सातै प्रदेशका २१ स्थानबाट सहयोगापेक्षी उद्धार गरिरहेको छ । हाल एक हजार १०० भन्दा बढीलाई संरक्षण दिँदै आएको छ ।

प्रतिक्रिया