शनिबार, वैशाख २९, २०८१

शेयरबजारमा रेकर्ड नै रेकर्ड, ९ अर्ब २२ करोड रुपैयाँको कारोबार

नेपालखोज २०७७ मंसिर १४ गते १५:५९

काठमाडौं । शेयरबजार परिसूचक नेप्से आइतबार ७५ अंक भन्दा धेरैले बढेको छ । नेप्से ७५ दशमलव शून्य २ अंकले बढेर १९ सय ६८ दशमलव २७ अंकमा पुगेको छ । यो नेपालको शेयरबजार इतिहासकै सबैभन्दा उच्च अंक हो ।

बैंकिङ समूहको शेयरमा उच्च बृद्धि भएको छ । पटक(पटकको सर्किङ ब्रेकपछि पुनः कारोबार भएको बैंकिङ समूहको शेयर १ सय १२ अंकले बढेर १५ सय ४९ अंक भन्दा माथि पुगेको छ । आज विकास बैंक समूहको शेयर १ सय ७३ अंकले, जीवन बीमाको २ सय ४५ अंकले, माइक्रोफाइनान्सको २७, जलविद्युतको २६ र फाइनान्स समूहको शेयर १२ अंकले बढेको छ ।

कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नाघेको छ । आज ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरका २ करोड ५९ लाख ४५ हजार कित्ता शेयर किनबेच भएका छन् । यो शेयरबजारमा अहिलेसम्मकै धेरै कारोबार रकम हो । यसअघि मंसिर ११ गते ७ अर्ब ६१ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज २१ वटा बैंकको शेयर ९ अंक भन्दा धेरैले बढेको छ । समग्र बजारमा रेकर्ड नै रेकर्ड बनेपनि विशाल बजार कम्पनीका शेयर धनीले भने १० प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया