मंगलबार, वैशाख ११, २०८१

बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

नेपालखोज २०७७ मंसिर १४ गते १६:२०

एएफपी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा अरु छ जना घाइते भएका छन् ।

बोको हराम विरुद्धको प्रतिकार समितिमा एक सदस्यले कोशोबे गाउँमा बोको हरामका सशस्त्र लडाकूले खेतमा काम गरिरहेका किसानको घाँटी रेटेर हत्या गरेको एएफपीलाई बताए । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त घटनाको निन्दा गरेका छन् । उनले “यी अमानवीय हत्याबाट सिँगै मुलुक स्तब्ध भएको छ” भनेका छन् ।

प्रतिकार समितिका सदस्य बाबाकुडा कोलोले आफूहरुले ४३ जनाको शब फेला पारेको र अरु छ जना गम्भीर अवस्थामा भेटिएको जानकारी दिए। उनले यस क्षेत्रमा बोको हराम समूहले बेलाबेला जघन्य आक्रमण गर्ने गरेकाले यस पटकको आक्रमण पनि उनीहरुले नै गरेको दाबी गरेका छन् ।

खेतमा काम गर्ने मजदुरहरु उत्तरपश्चिम नाइजेरियाको सोकोतो राज्यका रहेको पाइएको छ । स्थानीयवासी इब्राहिम लिमानले कामको खोजीमा यहाँ आएका ६० जनामध्ये ४३ जनाको हत्या भएको र ६ जना गम्भीर घाइते भएको बताए ।

अरु आठ जना हराइरहेको र उनीहरुलाई बोको हरामका लडाकूले अपहरण गरेको हुन सक्ने पनि लिमानले बताए । गत महिना पनि बोको हरामका लडाकूहरुले माइदुगुरी नजिकै सिँचाईको काम गर्ने २२ मजदुरको विभत्स हत्या गरेका थिए ।

आतंकवादी संगठन इस्लामिक स्टेटसँग नजिक रहेको मानिएको जिहादी समूह बोको हरामको आक्रमणबाट सन् २००९ यता कम्तीमा ३६ हजारको ज्यान गइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । यो हिंसा छिमेकी मुलुकहरु नाइजर, चाड र क्यामरुनसम्म फैलिएको छ ।

प्रतिक्रिया