शुक्रबार, वैशाख ७, २०८१

नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने ईयूको संकेत

नेपालखोज २०७७ मंसिर २२ गते १५:३६

काठमाडौं । युरोपेली संघ (ईयू)ले नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने संकेत गरेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै ईयूले नेपालको हवाइ सुरक्षामा सुधार भएकोमा प्रशंसा गरेको छ।

ईयूले नेपालको हवाइ सुरक्षामा प्रश्न उठाउँदै ७ वर्षअघि युरोपेली आकाशमा नेपाली जहाजमा लगाएको प्रतिबन्ध लगाएको छ।

विज्ञप्तिमा ईयूले हवाइ सुरक्षामा देखिएका चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गर्दै नयाँ हवाइ उड्डयन विधेयक संसदमा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार भएको उल्लेख गरेको छ।

ईयूले नेपालको सुधार प्रक्रियाले कालोसूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने उल्लेख गरेको छ।

विज्ञप्तिमा सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने उल्लेख छ।

उसका अनुसार पहिलो चरणमा ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लोपटक भएका विषयमा सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो खुला गरेको छ।

दोस्रो चरणमा हवाइ सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपाल भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा ईयूको हवाइ सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ।

तेस्रो चरण सुरक्षा सूचीबाट बाहिरिएपछि ईयूको हवाइ सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया