मंगलबार, साउन १, २०८१

प्रधानमन्त्रीसँग महासंघका नवनिर्वाचित पदाधिकारीको भेटवार्ता

नेपालखोज २०७७ मंसिर २५ गते १४:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले बुुधबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक भेटवार्ता गरेका छन् ।महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री समक्ष महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि भिजन पेपर तयारीमा लागेको बताए ।

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरीरहेको जानकारी गराए । अध्यक्ष गोल्छाले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतङक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोवल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव राखेकाछन ।

बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग संवोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकता माथि जोड समेत दिए । सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै प्रधानमन्त्रीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडी सारेको कार्ययोजनाको स्वागत गर्दे सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधै तयार रहेको विश्वास दिलाए ।

तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस, के सहयोग गर्नुपर्छ म आफै पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ, प्रधानमन्त्रीले भने । साथै प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिए । साथै उनले स्वदेशी उत्पादनको प्रवद्र्धनमा लाग्न समेत आग्रह गरे ।

भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया