बालाचतुर्दशी पर्व आज बेलुकीदेखि, यस वर्ष पशुपतिमा महादीपदान नहुने

नेपालखोज २०७७ मंसिर २७ गते ७:५७

काठमाडौं । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ ।

पशुपतिनाथ मन्दिरल गायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले बताउनु भयो ।
आज दीपदान गरी भोली बिहानै पितृको सम्झनामा शतबीज छरी बाला चतुर्दशी पर्व मनाइन्छ । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने कोषले जनाएको छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ ।

प्रतिक्रिया