सहकारी बैंकको लुम्बिनी प्रदेश स्तरीय साधारणसभा सम्पन्न

काठमाडौं । लुम्बिनी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई व्यावसायिक गराई उत्पादनमा जोड दिन आवश्यक भएको बताएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा अन्र्तगत लुम्बिनी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुुन । जनतालाई पूँजि र प्रविधिमार्फत आयआर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहदै आएको भन्दै मन्त्री पौडेलले अबको सम्पूर्ण ध्यान कृषिको बजारीकरणमा लगाउनु पर्नेमा जोड दिए ।

प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सहकारीद्वारा उद्योग संचालन गरिरहेको जानकारी गराउदै उनले सहकारीलाई व्यवसायिक गराउन सहकारी ऐन र अन्य ऐन विच तादम्यता मिलाउन आवश्यक रहेको समेत उनको जोड दिए ।
अब विभिन्न प्रदेश सरकारबीचको समन्वयमा सहकारी संघ संस्थाहरुको उत्पादनलाई बजारीकरण गर्न आवश्यक भएको र लुम्बिनी प्रदेश सरकारको उत्पादन र बजारिकरणप्रति स्पष्ट धारणा तथा योजना रहेको बताए । कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक माधवलाल देबकोटाको सञ्चालन र बैंकका संचालक तथा लुम्बिनी प्रदेशका संयोजक बिजया धितालको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य तारा गुरुङले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ ।
कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गरेका हुन । हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमण कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उनले जानकारी दिए ।
बैंकले गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको जनाएको छ । एकाई सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

प्रतिक्रिया