शुक्रबार, वैशाख ७, २०८१

निगमको १० वर्षे कार्ययोजना : ८ नयाँ गन्तव्य, ५ अर्ब ३० करोड नाफा

नेपालखोज २०७७ मंसिर २९ गते २१:१६

काठमाडौं । नेपाल वायुसेवा निगमले २०३० सम्म ५ अर्ब ३० करोड नाफा गर्ने योजना बनाएको छ ।

निगमले सन् २०२१ देखि २०३० सम्मको १० वर्षे व्यावसायिक योजनामा मन्त्रालयमा बुझाउँदै थप ८ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने बताएको छ ।

निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले सन् २०२१ देखि २०३० सम्मको व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाउँदै सुरुका ३ वर्ष नोक्सान नै भए पनि त्यसपछि निगम नाफामा जाने उल्लेख गरेका छन् ।

उनले सोमबार मन्त्री भट्टराईलाई बुझाएको कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

निगमले सो योजनाअनुसार २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियाद लगायत ८ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारोबडी ४ वटा र वाइडबडी २ वटा गरी ६ जहाज आवश्यक पर्ने जनाएको छ ।

त्यस्तै, आन्तरिक उडानतर्फ सुधारका लागि पनि काठमाडौं, नेपालगञ्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकारको १५औं पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाइ नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरवलोकनलाई आधार बनाएर यो व्यावसाियक योजना तयार पारिएको महाप्रबन्धक पौडेलले बताएका छन् ।

योजना प्रतिवेदनमा निगमको वित्तीय अवस्था, बजार विश्लेषण, कोभिड–१० ले निगममा पारेको असर, नेपाल सरकारबाट गरिएको अपेक्षालगायतका विषयवस्तुलाई सूक्ष्मरुपमा उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिए ।

निगमले तयार पारेको १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले त्यहाँभित्रको सुशासन र चुहावट नियन्त्रणजस्ता काम भएका सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने बताए ।

१० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले उक्त राजमार्गबाट दायाँबायाँ नगरी अहिले घाटामा रहेको निगमलाई व्यावसायिकरुपमा सफल बनाउनुपर्ने बताए ।

प्रतिक्रिया