शुक्रबार, चैत १६, २०८०

सगरमाथा माध्यमिक विद्यालयमा बालीविज्ञान कक्षा शुरु

नेपालखोज २०७७ पुष १२ गते १४:०८

भोजपुर । विद्यार्थीलाई प्राविधिक शिक्षा दिने लक्ष्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका केन्द्र घोडेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालयले बालीविज्ञान कक्षा सञ्चालनमा ल्याएको छ ।

माध्यामिक तह कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत बालीविज्ञान विषयको कक्षा शुरु गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई सीपमूलक शिक्षा दिएर व्यावहारिक ज्ञान दिने लक्ष्यले गाउँपालिकामा पहिलोपटक उक्त कक्षा शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

गाउँपालिकामा कृषिका लागि धेरै उर्वरभूमि रहेकाले यसले कृषि क्षेत्रको आधुनिकीरणमा टेवा पुग्ने उनको भनाइ छ । बालीविज्ञान अध्यापनका लागि आवश्यक प्रशिक्षक र सहप्रशिक्षकको तलब व्यवस्थापन माथिल्लो निकायबाट हुन नसकेमा गाउँपालिकाले सहयोग गर्ने उनले बताए ।

सोही विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्ष ईश्वरमान राईले बालीविज्ञानको अध्यापनले हतुवाक्षेत्रका विद्यार्थीलाई आवश्यक ज्ञान प्रदान गरी खेतीलाई आधुनिक तथा प्रविधियुक्त बनाउन सहयोग गर्ने धारणा राखे ।

विद्यालयका प्रधानाध्यापक हेमराज न्यौपानेले निकै लामो प्रक्रियापछि बालीविज्ञानको अध्यापन शुरु गर्न सम्भव भएको उल्लेख गर्दै यसको नियमित र व्यवस्थित सञ्चालनका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन । मकै, कोदो, धान, अदुवा, अलैँची, सुन्तला, बदामलगायत बालीसँगै तरकारी तथा फलफूलको राम्रो उत्पादन हुने माटो र भूगोल भए पनि आवश्यक प्राविधिक ज्ञान, सीप र क्षमताको अभावले गर्दा परम्परागत कृषि प्रणालीमै निर्भर हुनुपरेको गाउँपालिकाको ठहर छ ।

प्रतिक्रिया