शनिबार, वैशाख ८, २०८१

मुख्यमन्त्री भट्टले गरे ओली पक्षीय मन्त्रीलाई बर्खास्त

नेपालखोज २०७७ पुष १४ गते ११:४२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान बोहरालाई बर्खास्त गरिएको छ ।

विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलवार बर्खास्त गरेका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए । मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेर प्रचण्ड–नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

आफ्नै समूहभित्र असन्तुष्टि देखिँदा मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्रीहरू हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया