आइतबार, जेठ ६, २०८१

श्रम बजारलाई व्यवस्थित बनाउने उदे्श्यसहितको परियोजना सुरु

नेपालखोज २०७७ पुष १४ गते १९:४३

काठमाडौं । नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सीलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भए अनुसारको प्रदेश स्तरीय कार्यक्रमको थालनी सुर्खेतबाट भएको छ ।

पुष १२ गते आइतबार सुर्खेतको विरेन्द्रनगरमा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कार्यक्रमको उद्घाटन गरेका हुुन् । सभामुख शाहीले विकासका कार्यलाई आधुनिकता दिनका लागि दक्ष कामदार उत्पादन गर्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखेका हुन् ।

निजी क्षेत्र सरकारको विरोधी नभएको बताउँदै शाहीले आपसी सहकार्यमा समृद्घ नेपाल निर्माण गर्न सकिने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमानबहादुर खड्काले श्रम बजारलाई व्यवस्थित गर्न, दक्ष जनशक्ति उत्पादन गर्न र निजी क्षेत्रलाई दक्ष कामदार उत्पादनमा सरकारले सहयोग गरेमा थप प्रभावकारी नतिजा आउने विश्वास व्यक्त गरे ।

होटल संघ नेपालका केन्द्रीय सदस्य जनक सिंह ठकुरीले विदेशीने युवालाई रोकेर सीपयुक्त बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले यस्ता कार्यक्रम निजी क्षेत्रका लागि महत्वपूर्ण र उपलब्धीमुलक भएकोले सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

श्रम बजारका सूचनाहरुलाई व्यवस्थित बनाउनु परियोजनाको प्रमुख उद्देश्य रहेको छ । परियोजनाको प्रमुख कार्यहरु व्यवसायीक वर्गिकरण स्तरको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिनेलगायतका रहेको महासंघका वरिष्ठ उपाध्यक्ष एवं इएलएमएस प्रोजेक्ट कोअडिनेसन कमिटी सदस्य निकोलस पाण्डेले बताए ।

कार्यक्रममा निर्माण व्यवसायी एकता समाज सुर्खेतका अध्यक्ष जनकबहादुर रावलले स्वागत मन्तव्य राखेका थिए भने कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका मोहन प्रकाश आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रदेश स्तरीय अर्को कार्यक्रम पुष १३ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर बडले आफुले बनाएको गुरु योजना अनुसारका कार्य गर्न र स्थानीय स्तरको श्रम बजारलाई अध्ययन गर्न लागेको यस परियोजनाले प्रभावकारी रुपमा काम गरेर सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया