कृषि मन्त्रालयको दाबी : नेपालीलाई खान पुग्ने खाद्यान्न नेपालमै उत्पादन हुन्छ

नेपालखोज २०७७ पुष १७ गते ९:१२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालीलाई खान पुग्ने खाद्यान्न नेपालमै उत्पादन हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । नेपालमा उत्पादन भएको खाद्यान्न नेपालीले खाएर नसकिने दाबी पनि कृषि विकास मन्त्रालयको छ ।

केही दिनअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा जम्मा उपभोग्य प्रशोधित खाद्यान्न उपलब्धता ७३ लाख १२ हजार १७२ मेट्रिक टन रहेको छ । त्यसमध्ये नेपालीले वार्षिक ५६ लाख १९ हजार ०२३ मेट्रिक टन मात्र खाने गरेका छन् ।

हरेक वर्ष १६ लाख ९३ हजार १४९ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको छ । यो गहुँ, धान, मकै, कोदो, फापर, जौको तथ्याङ्क हो । यसमा माछा, मासु, तरकारीलगायतका खाद्यान्न जोड्दा अझ धेरै बचत हुने गरेको मन्त्रालयका सहसचिव डा.हरिबहादुर केसीले बताए । मानिसले खानेबाहेक अन्य उत्पादनको लागि पनि खाद्यान्न प्रयोग हुने भएकाले खाद्यान्न अपुग भएको जस्तो मात्रै देखिएको दाबी केसीले बताएका छन् ।

यस वर्ष नेपालमा धानको उत्पादन बढेको छ। यस वर्ष नेपालमा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै उत्पादन हो । गत वर्ष नेपालमा ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष धानको उत्पादन ७० हजार ८ सय ३२ टनले बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया