ब्रेक्जिटपछि नयाँ युगमा बेलायत

एजेन्सी । युरोपेली संघबाट बेलायतको बहुप्रतिक्षित बहिर्गमनको प्रक्रिया पूरा भएसँगै बेलायत नयाँ युगमा प्रवेश गरेको छ । बुधबार राती ११ बजेदेखि बेलायतले यसअघि संघको सदस्य राष्ट्रका रुपमा मान्दै आएको युरोपेली संघका नियम तथा कानूनहरुबाट मुक्ति पाएको छ ।
व्यापार, इमिग्रेसन, आवतजावत, सुरक्षा लगायतका क्षेत्रमा बेलायतले स्वतन्त्र रुपमा आफ्नै नीति–नियमको कार्यान्वयन सुरु गरेको छ । युरोपभित्रका २७ सदस्य राष्ट्रहरुबीचको राजनीतिक एवम् आर्थिक सम्बन्धको यो ‘नेटवर्क’सँग सन् १९७३ मा जोडिएको बेलायतको नाता ४७ वर्षपछि तोडिएको छ ।
सन् २०१६ मा सम्पन्न जनमत संग्रहमा बहुमत (५२५) बेलायती जनताले युरोपेली संघबाट बाहिरिने पक्षमा मत दिएका थिए । सोही म्यान्डेट अनुसार नै सन् २०२० को जनवरी ३१ तारिखमा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको थियो ।
तर त्यसयताका ११ महिनालाई संक्रमणकाल मानेर पुरानै कानूनहरु लागू गरिएको थियो । युरोपेली संघबाट अलग्गिएर बेलायतले अब स्वतन्त्र रुपमा आफ्नै कानूनहरुको कार्यान्वयन शुरु गरेको छ ।

प्रतिक्रिया