शुक्रबार, वैशाख १४, २०८१

समतामुलक समाज बनाउन मानवीयता अत्यावश्यक छ : मुख्यमन्त्री गुरुङ

नेपालखोज २०७७ पुष २१ गते १४:५७

समतामुलक समाज निर्माण गर्नका लागि मानवीयता अत्यावश्यक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार अभियानका अभियन्ताहरुलाई पोखरामा स्वागत एवं सडकसेवा र अन्तरक्रिया कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

मानवसेवा आश्रमले मानवता प्रवर्द्धन र यस पौष, माघ महिनाको समयमा चिसो सडकपेटीमा कठ्याङ्ग्रिएर कसैले पनि जीवन त्याग्न नपरोस् भन्ने उद्धेश्य सहित यस मेची महाकाली अभियानको सुरुवात गरिएको मानवसेवा आश्रमका केन्द्रीय एवं संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा मन्चमा आसिन मुख्यमन्त्रीज्यूले मानवसेवा आश्रमले वास्तविक मानवसेवा गरिरहेको बताए ।

समाजलाई सम्वृद्ध बनाउन सबैजनामा मानवीयताको भावना विकास गर्नु जरुरी छ । हाम्रो समाजको खानपान, ब्यबहारले गर्दा सबैजनालाई मानसिक रुपमा कुनै न कुनै प्रकारको असर परिरहेको छ तर त्यसबाट उन्मुक्ति पाउन परिवार, समाज, सरकार सबैको अतुलनीय भूमिका रहने गर्छ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनको लागि गण्डकी प्रदेश पूर्ण रुपमा प्रतिबद्ध रहेको छ । अहिले आश्रमको गण्डकी प्रदेशमा ४ जिल्लामा सेवाकेन्द्रहरु रहेका छन् ।

त्यति सेवाकेन्द्रहरुले पुग्दैन भने हामि थप गर्नका लागि पनि तयार छौं । अहिले सन्चालनमा रहेका सेवाकेन्द्रहरुको स्तरोन्नतिको लागि पनि हामि तयार छौं । मुख्यमन्त्री गुरुङले भने । त्यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख ज्ञान प्रसाद ढकालले सम्पूर्ण स्थानीय तहको साथ र सहयोग रहँदै आएको छ । हाम्रो तर्फबाट हुनसक्ने सेवाको लागि हामि तयार छौं । अहिलेसम्म साथ दिँदै आएका छौं र आगामी दिनमा पनि निरन्तरता दिनेछौं, उनले भने । सडकमानव व्यवस्थापनमा प्रहरीको पहिलो सहयात्री मानवसेवा आश्रम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले नेपाल प्रहरीको पहिलो सहयात्री मानवसेवा आश्रम रहेको प्रतिक्रिया दिए ।

सहयोगापेक्षी सडकमानवहरु भेटिएको अवस्थामा हामीले पहिले सम्झने संस्था बनेको छ मानवसेवा आश्रम । त्यस्तै मानवसेवा आश्रमले हरेक समयमा हामीलाई सम्झिएर यो सम्बन्धलाई सुमधुर बनाउनुभएकोमा कृतज्ञ छौं । उनले भने । सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धारका लागि पौष ७ गते देखि माघ ७ गतेसम्म मानवसेवा आश्रमले आयोजना गरेको मेची महाकाली यात्रा २०७७ प्रदेश नं १, प्रदेश नं २, बामगती प्रदेशको सेवा सम्पन्न गरि गण्डकी प्रदेशको गोरखा र लमजुङको सेवा पश्चात कास्कीको पोखरामा आइपुगेको हो । यसक्रममा अहिलेसम्म ३६५ जना सहयोगापेक्षी सडकमानवहरुको उद्धार भईसकेको छ ।

यो यात्रा अब लुम्बिनी प्रदेश, कर्णाली प्रदेश हुँदै सुदुरपश्चिम प्रदेशको महाकालीसम्म पुगेर समापन हुनेछ । कार्यक्रम मानवसेवा आश्रम कास्की शाखाका अभिभावक परिवार संयोजक सुष्मा पौडेलको अध्यक्षता, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको विशेष आतिथ्यता, पोखरा महानगरपालिकाका सदस्यहरु, प्रदेशसभा सदस्यहरु, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख ज्ञान प्रसाद ढकाल लगायत मानवताप्रेमी मनहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रतिक्रिया