बिहीबार, चैत १५, २०८०

पाँच दिनमा तीन दिन बजार उकालो लाग्दा २७ अर्ब १७ करोडको कारोवार

नेपालखोज २०७७ पुष २४ गते ११:४७

काठमाडाैं । नेप्सेमा यो साता पनि निकै उतारचढाव देखिएको छ । साताको सुरुवाती कारोवार दिन बढेको नेप्से अन्तिम कारोवार दिन पनि बढेर नै रोकिएको थियो । बिचको तीन कार्य दिन मध्ये दुई कार्य दिन भने नेप्से घटेको थियो । जसअनुसार यो साता पहिलो, चौथो र पाँचौ दिन नेप्से बढेको थियो भने दोस्रो र तेस्रो दिन घटेको थियो ।

यही उतारचढावकाबिच यो साता नेप्से दुई हजार एक सय ९४ अंकमा पुगेर रोकिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय २१ दसमलव २२ अंकमा पुगेर रोकिएको छ । दुई सय १२ वटा कम्पनीहरुको दुई लाख ३४ हजार पाँच सय १३ पटकको कारोवारमा यो साता पाँच करोड ८७ लाख ८२ हजार छ सय ४८ कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुँदा कारोवार रकम २७ अर्ब १७ करोड २३ लाख १२ हजार आठ सय सात रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार यो कारोवार रकम गत साताको तुलनामा सामान्यरुपमा बढी हो ।

गत साता दुई सय १४ वटा कम्पनीहरुको दुई लाख सात हजार तीन सय २४ पटकको कारोवारमा चार करोड ५१ लाख २७ हजार छ सय नौ कित्ता सेयर किनबेच भएका थिए । उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोवार रकम २२ अर्ब ७६ करोड १६ लाख तीन हजार नौ सय २१ रुपैयाँ पुगेको थियो ।

कारोवार खुलेको पाँच कार्यदिन मध्ये यो साता पहिलो, चौथो र पाँचौं दिन नेप्से क्रमश ८८ दसमलव १२, १३ दसमलव सात र १५ दसमलव ९१ अंकले बढेको थियो भने यी दिनहरुमा सेन्सिटिभ इन्डेक्स क्रमश १७ दसमलव १८, चार दसमलव ४५ र तीन दसमलव आठ अंकले बढेका थिए । दोस्रो र तेस्रो दिनहरुमा भने क्रमश नेप्से छ दसमलव ३६ र तीन दसमलव ५४ अंकले घटेको थियो । यी दुई दिनमा सेन्सिटिभ इन्डेक्स पनि क्रमश शुन्य दसमलव ७३ र एक दसमलव ४७ अंकले घटेको थियो ।

यो साता कारोवार भएका कुल कम्पनीहरु मध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोवार भएकाछन भने प्रभु बैंक, प्राईम कर्मसियल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । सुचीकरण तर्फ भने यो साता प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको दुई करोड कित्ता साधारण सेयर सुचीकृत भएको छ ।

प्रतिक्रिया