निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्छ : खानेपानीमन्त्री

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने बताएका छन् । मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारेका छन् ।
रिपोर्टस् क्लबमा आज आयोजित कार्यक्रममा उनले वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु भनेको देश पछाडि धकेलिनु हो भनेका छन् । संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई सङ्केत गर्दै उनले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विष्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताए। उनले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको जानकारी दिए।
सञ्चारकर्मीले सोधेका एक जिज्ञासामा उनले मन्त्री हुनका लागि समूह परिवर्तन गरेको आरोपको खण्डन गरे । “वर्तमान सङ्कटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको हुँ, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन”, उनले भने।
उनले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली भएकाले पार्टीको वैधानिकता पाउने जिकिर गरे । आफूले जीवनमा कसैलाई पनि धोका नदिएको मन्त्री थापाको भनाइ थियो ।
प्रतिक्रिया