जुम्लामा पनि सुरु भयो कालिज पालन व्यवसाय

जुम्ला । जुम्लामा कालिज पालन व्यवसाय सुरु गरिएको छ । पर्यटक प्रवर्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि जिल्लाको गुठिचौर गाउँपालिका ४ विगारे गाउँमा कालिज पालन सुरु गरिएको हो ।
जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकारी कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार महालक्ष्मी कालिज फर्म खोलेर व्यवसाय सुरु गरिएको छ ।
स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसाथ व्यवसाय सुरु गरिएको पाण्डेले थपे । हिमाली हावापानीमा पालिएको कालिज पोषणको हिसाबले पनि निकै उत्तम हुने भएकाले यहाँको मासुको गुणस्तर तथा स्वादमा फरक हुने उनले बताए ।
एक वर्षमा एक हजार उत्पादनको लक्ष्य:
जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढी चल्ला उत्पादन गर्ने लक्ष्य लिइएको फर्मले जनाएको छ ।
पाण्डेका अनुसार १५ लाख रुपैयाँ लगानीमा फर्म खोलिएको हो । फर्ममा अहिले ४० वटा पोथी र १ सय १५ वटा भाले कालिज छन् । कालिज पालन व्यवसाय राम्रो फस्टाइरहेको उनले बताए । प्रति कालिज तीनहजार पाँच सय रुपैयाँमा बिक्री गरिएको छ । यो मूल्य करिब स्थानीय कुखुराको मूल्य बराबर भएकाले बिक्री बढी हुन थालेको उनको भनाइ छ ।
प्रतिक्रिया