मंगलबार, चैत ११, २०८१

आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन हुँदै

नेपालखोज २०७७ पुष २५ गते १७:२४

काठमाडौं । निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पुर्याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी कार्यविधि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष प्रस्तुत भइसकेको र तीन महिनाभित्र निर्यातगृह सञ्चालन गरिनेछ ।

Advertisement

नेपाल रत्न तथा आभूषण सङ्घको सोह्रौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने बताउँदै उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले निजी क्षेत्रलाई आर्थिक समृद्धिको साझेदार मानेर उनीहरुसँगै हातेमालो गरी आर्थिक उन्नयनका निम्ति अघि बढ्न सरकार तयार रहेको बताए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र तदनुरुप काम भइरहेको बताउँदै एकै स्थानबाट निर्यातयोग्य सामग्रीको प्रवद्र्धन गर्न आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

उनले गरगहना बनाउने कालिगढको व्यवस्था स्वदेशमै गर्न सरकारले आवश्यक बजेट विनियोजन गरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई आवश्यक निर्देशन दिइसकेको बताए ।नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवटै तहका सरकारबाट उद्यमी व्यवसायीलाई सहयोग हुनुपर्नेमा जोड दिँदै अन्तर सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले कहिलेकाहीँ झञ्झट झेल्नुपरेको दुःखेसो गरे ।

उनले व्यावसायिक गतिविधि बढाउन तथा नीतिगत विषयमा सहजकर्ताको भूमिका निर्वाह गर्न एक संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । रासस

प्रतिक्रिया