यूएईमा एकैदिन दुई हजार ९ सय ९८ जनामा नयाँ स्वरुपको कोरोना सङ्क्रमण

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा विगत केही समयदेखि कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
विशेषगरि युरोपेली देशहरूमा देखा परिरहेको कोरोनाको नयाँ स्वरुप पछिल्लो समय यूएईमा पनि देखिएकाले सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयकाअनुसार गएको जनवरी ९ तारिखमा एकै दिन दुई हजार ९ सय ९८ जनामा नयाँ संक्रमण देखिएको छ ।
यूएई सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन यूएईमा रहेको नेपालीलाई दूतावासले आग्रह गरेको छ । यूएईका स्वास्थ्य निकाएका अनुसार पछिल्लो समयमा देखा परेको कोरोनाको नयाँ स्वरुप बढी संक्रामक रहेको छ ।
यूएई सरकारले कोरोना विरुद्धको भ्याक्सिन सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रूपमा उपलब्ध छ । यूएईमा रहेका नेपाली नागरिकले पनि ती केन्द्रमा गएर भ्याक्सिन लगाउन सक्ने दूतावासले जनाएको छ ।
प्रतिक्रिया