१ अर्ब ३४ करोड कर छलेको आरोपमा १६ फर्मविरुद्ध मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ अर्ब ३४ करोड राजस्व चुहावट गरेको कसुरमा न्यू सयपत्री इन्टरप्राइजेजसहित १३ वटा फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तविरुद्ध उच्च अदालत पाटनमा दुई वटा मुद्दा दर्ता गरेको छ ।
बाराको सिमरा पिपरास्थित न्यू सयपत्री ईन्टरप्राईजेज (स्था.ले.नं. ६०२२९८६३) का प्रोप्रााईटर विवेक मगरसहित १३ वटा फर्मका सञ्चालक र प्रोप्राइटरहरु तथा मुख्य कारोबारी मनिषकुमारसहित १५ जनाविरुद्ध विभागले उच्च अदालत पाटनमा दुई वटा मुद्दा दर्ता गरेको हो ।
विभागकाद्वारा जारी विज्ञप्तीमा उल्लेख भएअनुसार बाराको सिमरा पिपरा-१ स्थित न्यू सयपत्री इन्टरप्राइजेजले आर्थिक रुपमा कमजोर व्यक्तिहरुका नाममा १३ वटा फर्म दर्ता गरि त्यसबाट नक्कली भ्याट बिल जारी गरेको थियो । विभागले न्यु सयपत्री इन्टरप्राइजेजका सञ्चालक विवेक मगर, १३ वटा फर्मका सञ्चालक र मनिष कुमारविरुद्ध मुद्दा दायर गरेको हो।
मूल्य अभिवृद्धि करतर्फ ३७ करोड ३६ लाख ६३ हजार एक सय ७३ रुपैयाँ, आयकरतर्फ ८४ करोड २९ लाख ८ हजार ७ सय ६९ र लाभांश करतर्फ ५४ लाख ४७ हजार ७७ रुपैयाँ कर छलीको आरोप उनिहरुमाथि लगाइएको छ। आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ सम्म उक्त कर छली भएको दावी विभागको छ।
त्यस्तै विभागले सामान आयात नै नगरी विभिन्न फर्महरुलाई नक्कली बिल बिजक जारी गरेको आरोपमा सर्लाहीको बलरा गाउँपालिका-२ स्थित संकित जनरल सप्लायर्स प्रालीका सञ्चालक सुबोध शाहविरुद्ध १२ करोड ७५ लाख ५१ हजार ६ सय १४ रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरेको छ।
सुबोधले मूल्य अभिवृद्धि करतर्फ ४ करोड ५१ लाख २७ हजार २ सय ७३ रुपैयाँ, आयकरतर्फ ७ करोड १८ लाख ६६ हजार ४ सय ४६ रुपैयाँ र लाभांश करतर्फ एक करोड ५ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ कर छलेको आरोप लगाइएको छ।
प्रतिक्रिया