विद्रोहीको अध्यक्षतामा पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
मञ्चको भर्चुअल माध्यमबाट पौष २५ र २६ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुयाँल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् । महाधिवेशन उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पछिल्लो समय लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताएका छन् । लोकतन्त्र बिना अभिव्यक्ति स्वतन्त्रता हनन् हुने र स्वतन्त्र पत्रकारितालाई समेत आघात पुग्ने बिष्टले बताए ।

पत्रकार सुरक्षा, वृत्ति विकास र क्षमता विकासका क्षेत्रमा पत्रकार मञ्चले उल्लेख्य काम गरेको बताउँदै बिष्टले मञ्चका क्रियाकलापले नेपाली पत्रकारिताको उत्थानमा सहयोग पुगेको समेत बताए । ‘नेपाली जनजीवनका सवालको उठान गर्दै देशको सार्वभौमिकताका पक्षमा नेपाली पत्रकारको कलमलाई बलियो बनाउन मञ्चले आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने र पत्रकारको पेशागत सुरक्षामा सदैब अग्रपङ्तिमा रहनेछ भन्ने महासंघको विश्वास छ,’ महासचिव विष्टले भने ।
उक्त कार्यक्रममा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक आरती चटौतले व्यवसायिक पत्रकारिताले नै समाज रुपान्तरमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिताले सामाजिक उत्तरदायित्वलाई समेत आत्मसाथ गर्नुपर्ने बताइन् । उनले नेपाल पत्रकार मञ्चले कोभिड–१९ को संक्रमणका बेला पत्रकारको सुरक्षाका निम्तिसमेत विशेष कार्यक्रमहरु आयोजना गर्नु महत्वपूर्ण संस्थागत कार्य भएको बताइन् । मञ्चमा हाल विभिन्न सञ्चार माध्यममा क्रियाशील २ सय जना पत्रकारहरु सदस्य रहेका छन् ।
प्रतिक्रिया