मंगलबार, माघ १, २०८१

१५ दिनभित्र माग पूरा नगरे फोहोर व्यवस्थापनलाई रोक्ने सिसडोलवासीको चेतावनी

नेपालखोज २०७७ पुष २६ गते २१:२६

काठमाडौं । १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने सिसडोलवासीले चेतावनी दिएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे माग पूरा गर्न माग गरेका छन्।

Advertisement

समितिका संयोजक नवराज ढुंगानाले १५ वर्षदेखि फोहोर थुप्रिएर आतंक मच्चाइरहेको टिप्पणी गरे। पटक-पटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने चेतावनी दिए।

सिलडोलमा अब कि त फोहोर बस्ने कि त मान्छे बस्ने गरी टुंगो लगाउन ढुंगानाले सरकारसँग माग गरे। ‘भौतिक वातावरण प्रदूषित स्थानमा मान्छे र फोहर किन सँगै राखियोरु’ ढुंगानाले प्रश्न गरे। फोहोरको अन्यत्र व्यवस्थापन गर्न या सिसलडोलवासीलाई उपयुक्त स्थानमा ससम्मान व्यवस्थापन गर्न माग गरे।

‘सरकार गैरजिम्मेवार भएको छ, त्यसमा करोडौंको भ्रष्टाचार हुन्छ,’ उनले भने, ‘कुनै पनि हालतमा अब हाम्रो ठाउँमा फोहर व्यवस्थापन गर्नै दिँदैनौ र अब काठमाडौको फोहर काठमाडौमा नै व्यवस्थापन गर्नुपर्छ।’

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैला व्यवस्थापनका लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिए। फोहोरमैला व्यवस्थापन सधैं गम्भीर विषय बन्दै आएकाले यसको दिगो समाधानमा जोड दिए। भने, ‘प्रविधिमार्फत फोहोरको समाधान हुन्छ। फोहोरमैलाको व्यवस्थापन जिम्मेवारी सरकारको होइन, काठमाडौं महानगरपालिका हो।’

नेपाली कांग्रेस नुवाकोटका नेता रमेश महतले काठमाडौंबाट प्रहरी लगेर जबर्जस्त फोहोर फालिने गरेको आरोप लगाए। उनले जनतामाथि जोडजर्बजस्ती सह्य नहुने बताए। महतले भने, ‘सरकारले त्यसको वैकल्पिक व्यवस्थापन गरेर कर उठाएर यसको उचित व्यवस्थान गर्नुपर्छ।’ कार्यक्रममा विज्ञप्ति सार्वजनिक गर्दै समितिले उपत्यकाको फोहोरले सिसडोल आसपासका बस्तीमा १५ वर्षदेखि निरन्तर आतंक मच्चाउँदै आइरहेकाले समस्या हल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट वा मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरु, विषयगत समितिहरु र उपत्यका नगर फोरम सहित सरोकारवालाको उपस्थितिमा संयुक्त बैठक बसी तत्काल स्थानियवासीहरुको माग सम्बोधन गर्न माग गरेको छ।

समितिले १५ वर्षसम्म पनि फोहरको पहाड बनाई गाउँबस्तीदेखि वातावरण मानव स्वास्थ, जग्गा जमिन, खोला दूषित भएकाले फोहरको डाँडाबाट जनताले रोग र दुर्गन्ध भोगिरहेको भन्दै सरकारसँग दुख पोखेका छन्।

सिसडोल, बन्चरेडाँडा आसपासका अति प्रभावित वडाहरु काठमाडौं जिल्लामा समायोजन गर्नुपर्ने, प्रभावित क्षेत्र आसपासको जग्गा अधिकरण गर्ने, फोहरमैला व्यवस्थापन समिति निर्माण गर्ने, अल्पकालीन डम्पिङसाइट सिसडोल बनाउने, दीर्घकालीन डम्पिङसाइट बन्चरेडाँडामा बनाउने, वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन, फोहरमैला व्यवस्थापन ऐनसम्बन्धी, निर्माणधीन बन्चरेडाँडा आयोजनामा भएको लापरवाही सम्बन्धी, स्वास्थ्य र शिक्षाका सम्बन्धी, कृषि पशु र खानेपानी सम्बन्धी र यातायात (सडक) र रोजगारको प्रबन्ध सम्बन्धि मागहरु पूरा गर्न नेपाल सरकारबाट निर्णय हुनुपर्ने ११ बुँदे माग समितिले राखेको छ।

फोहरको व्यवस्थापनको जिम्मा काठमाडौंलाई दिएर ककनी १,२,३ धुनवेशी नगरपालिका १ लाई वा सिसडोलका आसपासको भुगोल बस्ती काठमाडौं जिल्लामा समायोजन गरेर व्यवस्थापन गर्नसमेत माग राखेको छ।

प्रतिक्रिया