आज २ सय ९९ औँ पृथ्वी जयन्ती, गोरखाका पाँच स्थानिय तहमा सार्वजनिक बिदा
काठमाडौं । आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।
काठमाडौं, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रमको तयारी गरेको छ ।
सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदैछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बनेका थिए ।
पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ । आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण स्मरण गर्ने गरिन्छ ।
देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् दिनेशराज पन्तले बताए ।
पृथ्वीनारायण शाहको प्रशंसा र विरोधभन्दा पनि उनको योगदान र दिव्योपदेशको मनन गर्नु महत्त्वपूर्ण हुने उनको भनाइ छ । पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आलोचना समेत हुँदै आएको छ । तर पृथ्वी जयन्तीको अवसरमा गोरखाका पाँच वटा स्थानिय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
आधुनिक नेपाल एकीकरणका नायक तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्मथालो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
प्रतिक्रिया