बिहीबार, चैत १५, २०८०

देउवा-पौडेल विवादको जड के ?

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ पुष २८ गते १३:४३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बैचारिक मतभिन्नता स्पष्ट रुपमै देखिन थालेको छ । सभापति र वरिष्ठ नेताको यो मतभिन्नताले कांग्रेसको बाटो कतातिर भन्ने प्रश्न उठाएको छ । देउवाले ओलीको पार्टी चुनावमा जाने भइसकेकोले कांग्रेस पनि चुनावमा जानुपर्ने र पौडेलले संविधान बचाउनको लागि निर्वाचन होइन संसद पुनर्स्थापना हुनुपर्ने मत राख्छन् । चुनावभन्दा संविधान र गणतन्त्र ठूलो हो । त्यसैले संसद् विघटनको कदम नसच्याइ चुनावको अर्थ छैन । संविधानलाई लिकमा ल्याएपछि चुनावमा जाउँला भन्ने पौडेलको अभिमत छ भने देउवाको कांग्रेस त कानून र अदालतको सम्मान गर्ने पार्टी हो, हामी किन निर्वाचनबाट भाग्ने भन्ने अभिमत छ । यसले संसद विघटनका कारण कांग्रेसको आन्तरिक किचलो अझै बढेको त होइन भन्ने प्रशस्त आशङ्का उत्पन्न भएको छ ।

हाल कांग्रेसभित्र टड्कारो रुपमा तीन गुटहरु छन् । उपगुटहरु त अझै प्रशस्तै छन् । कांग्रेस महाधिवेशनको तयारीमा पनि रहेका कारण कार्यकर्तालाई आफू केन्द्रित गराउन मात्र यो मतभिन्नता हो कि गहिरो रुपमा गुटहरुको गणनामा उनीहरु समीकरणमा लागिसकेका छन् त्यो बुझ्न भने आगामी दिनको क्रियाकलाप हेर्न बाँकी छ ।

पौडेलले संविधान बनाउने आफूहरु जिउँदै रहेको भन्दा सभापति देउवाले म पनि जिउँदै छु, आफूमात्रै जिउँदै छु भन्ने भनेर प्रतिप्रश्न गर्नुले देउवाको अपर्झट प्रतिकार गर्ने स्वभाव मात्र त्यसमा मिश्रित छैन भन्ने अड्कल लगाउन मुस्किल छैन । आइतबारको यो चर्काचर्कीभन्दा पहिले शनिबार नै देउवाले पार्टी चुनावमा जाने भएकोले कार्यकर्तालाई सक्रिय हुन निर्देशन नै दिएका थिए । यसले देउवा चुनावमा जान अतुर रहेको देखाउँछ, तर अदालतमा विचाराधीन रहेको संसद विघटनको मुद्दाका सन्दर्भमा भने देउवा मौन छन् । सायद् उनी ओलीकै बिचारसँग पो सहमत रहेछन् कि ? देउवा बिचारमा स्थिर हुँदैनन् त्यसैले बोल्ड निर्णय लिन नसकेको आरोप कांग्रेसकै कतिपय नेताहरुले लगाउँछन् ।

पूर्व चार प्रधानन्यायाधीशहरुले संसद् विघटन संवैधानिक नरहेको र संसद् पुनर्स्थापना नै संविधानको मर्म भएको जिकीर गरिरहँदा देउवाको चुनावका लागि अत्तालिएको आवाजले संविधानको मर्म र भावना सम्झेको छैन, तर तनहुँमा ओलीका कार्यकर्ता र पुलिसको भाटा खाएर पनि लोकतन्त्रका पहरेदारी गरेका पौडेललाई संविधानको माया छ । संसदमा आफ्नो पार्टीको कम उपस्थिति रहे तापनि उनी पार्टीको हार स्वीकार्छन् तर लोकतन्त्रको हार स्वीकारर्दैनन् । चौंसठ्ठी सालको संविधान सभा चुनावमा गिरिजाप्रसाद कोइरालालाई चुनाव नगराउन कांग्रेसका धेरै नेताले दवाव दिएका थिए, तर त्यतिबेला कोइरालाले हाम्रो पार्टीले चुनाव हारे तापनि लोकतन्त्र र देशले हार्न नहुने हुँदा चुनाव गराउनुपर्छ भनेका थिए । लोकतन्त्र र संविधानले हार्न नहुने बिचार राख्ने पौडेल कोइराला जस्तै संविधानको पक्षमा छन्, भने देउवा चुनाव भइहाले त प्रधानमन्त्री हुन्थें नि गाँठे भन्ने बिचारबाट प्रभावित छन् । संविधान हेरेर निर्णय गर्ने हो भने संसद् शतप्रतिशत ब्युँझिन्छ । बलिदानी प्रधानमन्त्रीको सिफारिस हो, हामी यो बलिदानीको अपमान गर्न सक्दैनौँ र बदर हुँदैन भनेर सर्वोच्च अदालतले भन्दियो भने संविधानसभाका सदस्य र मजस्तो नागरिकले भन्नुपर्छ, हे, श्रीमान्ज्यूहरू तपाईंहरुको फैसलालाई हामी अन्यथा भन्न सक्दैनौँ, शिरोपर गर्छौं, संसद् विघटन गरेको मात्रै सदर गर्ने होइन, संविधान पनि सँगसँगै बदर गरिदिनुहोस् भनेर दुईवटा फैसला खोज्नुपर्छ भन्दै पूर्व सभामुख दमननाथ ढुङ्गाना कराई रहँदा देउवाले लत्तो छोड्न मिल्ला ?

यद्यपि हालका संविधानका पनि धेरै कमी कमजोरी छन् । यसलाई संशोधन गर्नेबारे धेरै पटक संसदमा मुद्दाहरु नउठेका होइनन्, तर ओली महाराज जतिबेलासम्म आफ्नो सिंहासनमा विराजमान हुने वातावरणमा थिए, त्यतिबेला यो संविधान वेदका मन्त्र जस्ता थिए अशंसोधनीय, अपौरुषेय र सर्वसम्पत्कारक । आज उनलाई सिंहासन जोगाउन अप्ठेरो पर्ने बित्तिकै यो संविधान फगत् कागतको चिर्कटो भएको छ र त्यसलाई देउवाले पनि भित्रभित्रै समर्थन गरेका त हैनन् धेरैले आशङ्का गरेका छन् । कांग्रेसले लिनुपर्ने बिचार अहिलेलाई चुनावको होइन, संविधान रक्षाको हो । संविधानमाथि भइरहेको यो बलमिच्याईंलाई कांग्रेसले सहनु हुँदैन र देउवा पौडेलको बिचारमा आउनु जरुरी छ । जसले लोकतन्त्रलाई मजबुत बनाउँछ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको पछिल्लो भूमिकाप्रति असन्तुष्टि जनाउँदै नागरिक अगुवाद्वय देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले पनि देउवाको सदाबहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको बताएका छन् । पुस ५ गते असंवैधानिक तरिकाले संसद विघटन भएपछि देउवाले जस्ताखाले अभिव्यक्ति दिइरहेका छन् । यसबाट देउवाले ओलीको कदमविरूद्ध सशक्त आन्दोलनभन्दा चुनावको बाटोतर्फ जाने निर्णण गर्नुले लोकतन्त्र खतरामा पर्ने पो हो कि भन्ने अगुवाद्वयको चिन्ता स्वाभाविकै हो ।

रामचन्द्र पक्षका नेताहरुले कांग्रेसले संसद पुनर्स्थापनाका लागि आन्दोलन र महाधिवेशन तयारीका लागि सभापतिलाई दवाव दिने निष्कर्ष नै निकालेर अघि बढेपछि त झन् देउवा असहज स्थितिमा पर्ने सम्भावना छँदैछ । कार्यकाल समाप्त भइसकेका र समय थपेर अडिएका देउवालाई सभापति पद जोगाउन नसकिने पो हो कि भन्ने चिन्ताले सताएको देखिन्छ नभए ओलीको गलत कदमको सामना गर्न कुनै डर नमान्नुपर्ने हो । लोकतन्त्रको लागि सत्तरी वर्ष खटेको पार्टीको यस्तो आन्तरिक किचलोले लोकतन्त्रको रक्षा कसले गर्ला भन्ने चिन्ताको विषय बनेको छ ।

क्रियाशील सदस्यता वितरण पनि समयमै नटुंग्याएर देउवाले आलेटाले गरेको कसैबाट छिपेको छैन । यसका कारण महाधिवेशन नै अनिश्चततामा जाने पो हो कि भन्ने अर्को चिन्ता कांग्रेसमा छँदैछ । यो चिन्ताले देउवाले कांग्रेसमा ओली पथकै नक्कल गर्न लागेका त हैनन् भन्ने पनि कतिपयले आशङ्का गरेका छन् । यस्तो असहज परिस्थितिमा पार्टीमा ठूलै हलचल हुने पो हो कि भन्ने कार्यकर्ता जगतको चिन्ता जायज छ ।

प्रतिक्रिया