मंगलबार, वैशाख ४, २०८१

संसद् पुनर्स्थापनाको कुरा गर्नेहरू भित्रभित्रै चुनावको तयारी गरिरहेका छन् : प्रभु साह

नेपालखोज २०७७ पुष २९ गते ११:००

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले संसद् पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा लागेका बताएका छन् ।

नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाली कांग्रेस र जसपासँगै माधव–प्रचण्ड समूह पनि आन्तरिक चुनावी तयारीमा रहेको जिकिर गरे । संसद् पुनर्स्थापनाको माग राखेर गरिरहेको आन्दोलन हात्तीको देखाउने दाँतजस्तो हो । सबैको चाहना चुनाव नै भएकोले चुनावी तयारीमा जुट्न कार्यकर्तालाई प्रदेश अध्यक्ष साहले निर्देशन दिए ।

्र‘अहिले सडकमा देख्न सक्नुहुन्छ, केही नेता तथा राजनीतिक दल संसद पुनर्स्थापनाको माग राखेर आन्दोलन गरिरहेका छन् । तिनीहरूको भ्रममा नपर्नुस्, उनीहरु सबै भित्रभित्रै चुनावको तयारी गरिरहेका छन्’ नेता साहले भने, ‘हात्तीको देखाउने दाँत र खाने दाँत फरक हुन्छ, यो पनि त्यस्तै हो । झट्ट हेर्दा आन्दोलन गरेजस्तो देखिन्छ तर उनीहरु केन्द्र देखि गाउँ गाउँसम्म चुनावी तयारीमा लागिसकेका छन् ।’

‘कांग्रेस र मधेशी दलभन्दा बढी चुनावी तयारीमा माधव नेपाल र प्रचण्ड लागेका छन । त्यसैले कुनै किसिमको दुबिधामा नरही चुनावको तयारीमा लाग्नुस कमरेडहरु । वैशाख १७ र २७ गते चुनाव हुन्छ’ नेता साहले थपे ।

कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र रघुवीर महासेठ, प्रदेश सचिव एवम् राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया