आइतबार, असार २९, २०८२

संवैधानिक इजलासमा न्यायाधीश कार्कीको स्थानमा सपना मल्ल प्रधान

नेपालखोज २०७७ पुष २९ गते ११:१५

काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना मल्ल प्रधानलाई राखिएको छ भने अन्य न्यायाधीश भने यथावत छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार संवैधानिक इजलास नै गठन गर्दै न्यायाधीश कार्कीको स्थानमा प्रधानलाई राखेका हुन् । प्रधानन्यायाधीश जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । कार्कीको सट्टा प्रधानलाई इजलास राखिए पनि अन्य न्यायाधीशहरु यथावत छन् ।

न्यायाधीश प्रधान संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् ।

यसअघि इजलासमा राखिएका न्यायाधीश कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता बनेकाले स्वार्थ बाझिन सक्ने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएका थिए । त्यसपछि अघिल्लो पटकको सुनुवाइमा कार्की आफैंले आफू इजलासमा नबस्ने घोषणा गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्णइजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । तर, त्यसलाई पनि प्रधानन्यायाधीश जबराले अस्वीकार गरेर संवैधानिक इजलास नै गठन गरे ।

प्रधानमन्त्री ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद् विघटन गरेकी थिइन् ।

प्रतिक्रिया