गोदी मिडियाकर्मी सुधीरले लिएको अन्तर्वार्ताको निहितार्थ
‘चीन–नेपाल मामिलामा असफल भएलगत्तै भारत नेपालमा सफल हुने अनेक दाउपेचमा सक्रिय छ’
भारतीय टेलिभिजनलाई आफ्नो निवासमा बोलाएर अन्तर्वार्ता दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः राष्ट्रवादी कार्ड प्रयोग गरी सत्ता जोगाउने खेल खेलेका छन् । देशभित्रको आन्तरिक किचलो र भागदौड मच्चिरहँदा प्रधानमन्त्री ओलीले एउटा विदेशी निजी टेलिभिजनलाई आफ्नै निवासमा बोलाएर अन्तर्वार्ता दिनु कति जायज छ ? एउटा विदेशी निजी कम्पनीलाई निवासमै बोलाएर अन्तर्वार्ता दिँदा कति खर्च भयो ? त्यस्तो अन्तर्वार्ताको प्रयोजन के हो ? एउटा नाफामूलक संस्था ओलीजीको दरबारमा उनलाई खोज्दै आयो होला त ? एउटा सार्वभौम सत्तासम्पन्न मुलुकको प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय भाषामा नबोलेर हिन्दी भाषामा अन्तर्वार्ता दिनुको पछाडि के रहस्य छ ? ओलीजीले पूर्वीय दर्शनका ज्ञानहरु छाँटिरहँदा सुधीर चौधरी मुक बस्नुको अर्थ के होला ? एउटा ज्ञानी बालकझैं चौधरी सुनिरहन्छन् मानौं उनलाई केहि थाहा छैन । धेरै मैं हुँ भन्नेहरुको बोलती बन्द गराउन सक्ने चौधरीलाई ओलीजीलाई मुख बन्द हुने प्रश्न गर्न के कुराले छेकेको छ ? ओलीजीले नेपालको संवैधानिक मर्म समाप्त गर्दै गर्दा नेपालमा राजनैतिक अस्थिरता चाहने दक्षिणले भारतका विभिन्न कुटनैतिक नियोगका व्यक्तिहरु नेपाल पठाएको थियो । त्यसलाई कसरी बुझ्ने हो ? यी यावत् प्रश्नहरु अनुत्तरित छन् ।
चीन–नेपाल नीतिमा असफल भइसकेको छ । ओलीको हाउभाउ र बडी ल्याङ्वेजले उनी अब भारतीय कार्ड खेल्ने मनस्थितिमा रहेको अनुमान गर्ने प्रशस्त ठाउँ रहेको देखिन्छ । भारतले पनि ओलीलाई समर्थन गर्न चाहेको जस्तो अनुमान लगाउन कठीन छैन । भारतको मिडिया गोदी मिडिया रहेको कसैबाट छिपेको छैन । गोदी मिडियाको मतलब हालको लागि मोदी मिडियाको रुपमा बुझ्दा फरक पर्दैन । यद्यपि गोदीको शाब्दिक अर्थ भने कसैको काखमा बसेको भन्ने हुन्छ । हाल भारतीय मिडिया मोदीको काखे बालकको रुपमा रहेको छ । पत्रकार रविश कुमारलााई सुन्ने हो भने भारतको लोकतन्त्रको हत्यारा भारतीय मिडिया नै हो । मोदीको भक्ति बाहेक भारतीय मिडियाले आज जनताको कुनै पनि मुद्दालाई उठाउँदैन ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपन आएको थियो । कूटनीतिज्ञ र सञ्चारमाध्यमले नेपालले चीनको उक्साहटमा भारतविरुद्ध प्रयोग भएको आरोप लगाउँदै आएका थिए । भारतीय मिडिया मोदीको भक्तिमा नेपाललाई खलनायकको दर्जा दिन पछि परेन । नेपालमा एन्टी भारत मिसन शुरु भएदेखि उदियमान नव पाकिस्तानसम्मका भारतीय मिडियाका शब्दहरुले कुटनीति र मर्यादाको सीमा नाघेको ताजै छ । नेपालका लागि चीनका राजदूत र ओलीका प्रेम सम्बन्ध समेतका अनर्गल प्रचार गर्ने च्यानल त्यही थियो जुन च्यानलका सम्पादकले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिए । यो बदलिएको समीकरणलाई कसरी विश्लेषण गर्ने ?
विगत तीन वर्षदेखि भारत नेपाल मामिलाको परराष्ट्र नीतिमा पूर्णतः असफल भएको थियो । भारतका नेपाल मामिलाका जानकारहरुले मोदी नेपाल मामिलामा असफल रहेको निष्कर्षसहित आगामी कदम कस्तो हुनुपर्ने भन्ने सल्लाहसहित भारत सरकारलाई प्रतिवेदन पेश गरेको कुरा कसैबाट छिपेको छैन । चीन नेपाल मामिलामा असफल भए लगत्तै भारत नेपालमा सफल हुने अनेक दाउपेचमा सक्रिय छ । हाल सरकार र पार्टीमा कमजोर भएका ओलीलाई सरकार बचाइदिने बचन दिएर भारत सफल हुने दाउपेचमा सक्रिय रहेको त होइन भन्ने अड्कलबाजी गर्न गाह्रो छैन । संसद् र पार्टीमा कमजोर रहे तापनि जनताका माझमा थोरै सहानुभूति पाएका ओलीलाई समर्थन गरिदिने हो भने ओलीले भारतको इसारामा प्रशस्त काम गर्न सक्ने अनुमान भारतीय पक्षले गरेको हुन सक्छ ।
आठ कक्षा फेल ओलीले पूर्वीय दर्शन र ज्ञानका विषयमा फलाक्दै गए त्यो पनि चौधरीकै मातृभाषामा । चौधरी प्रतिप्रश्न गर्दैनन्, बच्चाले झैं टाउको हल्लाउँछन्, मनमनै हाँस्छन् । चौधरी यसरी सुन्छन् मानौं उनले चरक, सुश्रुत, याज्ञवल्क्य, गार्गी, जनक र भास्कराचार्यको नाम पहिलो पटक सुनिरहेका छन् । प्रभूले सिकाएर पठाइएका या प्रशस्त पैसाले किनिएका चौधरी एउटा अयोग्य शिक्षक एवं अयोग्य शासकबाट फलाकिएको ज्ञानका रटी रटाई तथ्य कान फुट्ने गरी सुनेर धन्यवाद भन्दै बिदा माग्छन् । चौधरीले बीचमा प्रतिप्रश्न नगरेको कुरा भक्तहरुले मनन् गर्दैनन् र ओली महाराज सर्वविद्या विशारद, सर्वशास्त्र षड्दर्शनपरपर्याय हुन् भनी अनुमोदन गर्दछन् । सामाजिक सञ्जाल अहिले ओलीजीका तिनै भक्तभक्तिनीले प्रशंसा गरेका शब्द गुच्छाले रङ्गिएको छ ।
अर्कोतर्फ भारतमा लगातार फ्लप फ्लिम रिलिज गरिरहेको गोदी मिडियाको सदस्यले नेपालमा पनि भारतीय भाषामा एउटा फ्लप हिन्दी चलचित्र रिलिज गरेको अवस्था हो । भारतमा दुई हजार चौधदेखि लगातार लोकतन्त्रको मुटुमा छुरा रोपिरहेको गोदी मिडियाले नेपालको लोकतन्त्रको हत्यारा ओलीसँग घाँटी जोड्नुलाई अनौठो मान्नु पर्दैन । ओलीले गरेका तर्कहरु बाहिर जति राष्ट्रवादी देखिएका छन् त्यो भन्दा बढी भारतले सयौें वर्षदेखि आफ्नो गौरवगाथा भनेर प्रचार गरिरहेको नालन्दा विश्वविद्यालय, भाष्कराचार्य र गार्गी र याज्ञवल्क्य जस्ता सांस्कृतिक पक्षहरुको चर्चा गर्नुले भारतमा सरकारमा रहेको हिन्दुवादी भाजपाको मुद्दालाई नजाँनिदो ढङ्गबाट प्रशंसा एवं समर्थन गरिएको देखिएको छ । यसले भारतमा रहेको वर्तमान सरकारलाई ओलीले समर्थन गरेको देखाउँछ ।
गोदी मिडिया र भाजपा सरकार हाल भारतमा पनि असफल छ । हाल लगातार गिरिरहेको अर्थतन्त्रलाई लिकमा ल्याउन भारतलाई छिमेकीहरुको साथ अपरिहार्य रहेको छ । भाजपा सरकार असफल बनाउनमा अतिशय प्रशंसाका कारण गोदी मिडिया नै जिम्मेदार छ । चाहे त्यो रफाल आयाले होस् या विश्वगुरु बन गया भारतले होस् । विश्वगुरु बन गया भारतको अपार असफलतापछि मोदी महाराज अहिले सप्ताहका पण्डित जस्ता कपाल र जुङ्गा–दारी बढाउनमा व्यस्त छन् । उनी छिमेकीमाझ पूर्णतः असफल भइसकेका छन् । यस्तो अवस्थामा गोदी मिडियाको काम मोदीलाई सफल देखाउन विभिन्न धार्मिक मुद्दामा नेपालको पनि समर्थन रहेको देखाउनमा केन्द्रित रहनु नौलो कुरा होइन । त्यसैको कडी पनि हुन सक्छ गोदी मिडियाका एक सम्पादकले ओलीको अन्तर्वार्ता लिनुको अर्थ ।
प्रतिक्रिया