शुक्रबार, वैशाख ७, २०८१

नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित

नेपालखोज २०७७ माघ १ गते ११:४८

काठमाडौं । नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश पारित गरेकाे छ । बैंकले बुधबार प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअल मार्फत आयोजना भएको ६१ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा बैंकको आर्थिक वर्ष २०७६–०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६–०७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ ।

सभाले हालको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार दुई सय रुपैयाँ मध्येबाट चार प्रतिसतका दरमा हुन आउने ४५ करोड १३ लाख १२ हजार आड सय आठ रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने एक अर्ब ३५ करोड ३९ लाख ३८ हजार चार सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन् ।

अन्तमा, सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनी तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया