बिहीबार, चैत १५, २०८०

झाँक्रीले तातो फलामले डाम्दा गुल्मीमा एकको मृत्यु, दुई घाइते

नेपालखोज २०७७ माघ १ गते १३:५४

पाल्पा । रोग निको पारिदिने भन्दै झाँक्रीले तातो फलामले डाम्दा गुल्मीमा ६४ वर्षीया पुरुषको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा इस्मा गाउँपालिका–३ दर्लामचौरका रामबहादुर मुखिया रहेका छन् । उनको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटना रेसुंगा नगरपालिका–१ ओख्रेनी तीनधारामा भएको प्रहरीले जनाएको छ ।

मालिका गाउँपालिका–६ अर्जे घर भई तीनधारामा भाडामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले मुखियालाई सन्चो बनाउने बहानामा तातो फलामले डामेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी पुरूषोत्तम पाण्डेका अनुसार ढाड दुख्ने समस्या रहेका मुखिया झारफुकका लागि पुस २५ देखि निरन्तरजसो श्रेष्ठको घरमा जाने गरेका थिए ।

यसैगरी घाइते हुनेमा मुखियाका जेठा छोरा ३४ वर्षीय हुमबहादुर र रेसुंगा नगरपालिका–५ भुवनपानीकी ४० वर्षीया टोपला दमाई रहका छन् । उनीहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।

श्रेष्ठ दम्पतीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया