नेपालमा करिब १५ हजार वर्ष अघि योग शुरु भयो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृण्ण गोपाल श्रेष्ठको संयोजकत्वको राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास वालुवाटारमा भएको योग दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा करिब १५ हजार वर्ष अघि योग शुरु भएको बताएका हुुन् ।
आदी योगको भूमीको रुपमा रहेको नेपाललाई योगमय बनाउन योग गुरुहरुको महत्वपूर्ण भुमिका रहेको बताए । मानव, जीव, अन्यजीव र प्रकृतीसँग जोडिएको शब्द योग हो, हरेक नेपालीले स्वथ्य रहन हरेक दिन योग गर्न आवश्यक छ ।
उनले जीवनलाई कसरी मानव जीवन बनाउने भन्ने विषय योगसँग जोडिएको उल्लेख गर्दै योगकै कारण अधिकांश नेपाली स्वथ्य भएको उल्लेख गरे । हरेक वर्षको जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गराउँदै उनले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघबाट पारित गरेको बताए । भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए ।
‘सूर्य दक्षिणायनमा पुग्ने समयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनु हाम्रो गौरबको विषय हो, विश्वभर योग दिवन मनाउनुपर्छ भन्ने प्रस्ताव नेपाल र भारत दुवै देशको हो,’ ओलीले भने । उनले अब नेपालले ध्यान दिवस बनाउने विषयमा छलफल शुरु गर्नपर्ने बताए । ओलीले करिब १० मिनेट योग अभ्यास गरेपछि करिब एक घण्टा बोलेका थिए ।
मुल समारोह समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले योग शिक्षा र अभ्यासलाई सबै नेपालीले ग्रहण गर्नुपर्ने बताए । उनले अधिकांस नेपालीले योग गर्ने संस्कार शुरु गरेको बताउँदै योगकै कारण अन्य मुलुकको तुलनामा नेपाली जनता स्वथ्य रहेको दाबी गरे । उनले योगलाई ब्यापक गर्न सरकारले पाठ्यपुस्तकमै योग विषय समेटेको जानकारी गराए । सरकारले यो वर्ष ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्य तय गरेको थियो ।
दिवसमा मन्त्रीहरु, चारै सुरक्षा निकायका प्रमुख, विघटित प्रनिनिधि सभाका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उच्च कर्मचारी, योग गुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए कार्यक्रममा योग गुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए । योग गुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । उनले अब योग दिवस मात्र नभै ध्यान दिवस मनाउने विषयमा सरकारले पहल गर्नुपर्ने बताए । उनले भने, अन्तर्राष्ट्रिय ध्यान दिवस बनाउने विषयमा सरकारले जोडदार पहल गर्नुपर्छ । अधिकांश योग गुरुले बुद्धजयन्तीको दिनलाई ध्यान दिवस मनाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।
नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । यो छैठौ योग दिवस हो । सरकारले यो दिवसलाई सप्ताहब्यापी रुपमा मनाउने भएको छ । कार्यक्रममा शिक्षा सचिव गोपी मैनालीले योगको महत्वको बारेमा जानकारी दिएका थिए । कार्यक्रमममा योग गुरु यतिराज भट्टराईलाई प्रधानमन्त्री ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले २५ हजार नगदसहित सम्मान गरिएको थियो । त्यस्तै प्रधानमन्त्री ओली, मन्त्री श्रेष्ठ र योग गुरु आनन्द अरुण, क्षितिज बराकोटीले पातञ्जल योग बुलेटिन बिमोचन गरेका थिए ।
प्रतिक्रिया