शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री कप आजदेखि, गण्डकीविरुद्ध पहिला ब्याटिङ गर्दै आर्मी

नेपालखोज २०७७ माघ २ गते ११:०९

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता आजदेखि टियु क्रिकेट मैदानमा सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा आर्मीले गण्डकीविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आर्मीले पहिलो खेलमा स्पिनर साहब आलम, ब्याट्सम्यान अनिल कुमार मण्डल र अलराउन्डर हरि चौहानलाई बेन्चमा राखेको छ । गण्डकीले मिलन लुइटेल, राहुल शर्मा उपाध्याय र दीनेश जंग बुढामगरलाई बेन्चमा राखेको छ ।

गण्डकीको प्लेइङ ११ मा विपिन खत्रीको कप्तानीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, दीपक डुम्रे, अभिषेक थापा, सुबास भण्डारी, समिर कंडेल, अर्जुन कुमाल, विशाल पौडेल र विष्णु पान्डे रहेका छन् ।

आर्मीको टोलीमा विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), राजु रिजाल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, विक्रम सोब, आकाश चन्द, सुशन भारी, हरिकृष्ण झा, लोकेश बम र जितेन्द्र मुखिया रहेका छन् ।

प्रतियोगिता माघ १७ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा चल्ने छ । प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । समूह बी मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । समूह चरणपछि शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छ । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ मा हुने छ । फाइनल माघ १७ मा हुने छ ।

गतवर्ष माघमा सुनसरीको इनरुवामा सम्पन्न मनोमहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगितापछि यो पहिलो राष्ट्रिय प्रतियोगिता हो । नेपाली पुरुष क्रिकेट टोलीले अन्तिम पटक गत फागुनमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० छनोट खेलेको थियो । त्यसयता भने पुरुष टोलीका खेलाडीले कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिएनन् ।

यस पटक प्रधानमन्त्री कप छनोटमा जिल्ला हुँदै प्रदेश छनोट मार्फत खेलाडी छानिएको हुँदा युवा खेलाडीको बाहुल्याता छ । पहिलो संस्करणमा आर्मी र नेपाल पुलिसले उपाधि संयुक्त रुपमा बाँडेका थिए । वर्षाको कारण फाइनल प्रभावित हुँदा उपाधि बाड्नु परेको थियो । दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी फाइनलमा पुलिससँग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया