सोमबार, वैशाख ८, २०८२

एमसीसीलाई बन्धक नबनाऔँ : ऊर्जामन्त्री रायमाझी

नेपालखोज २०७७ माघ २ गते १३:३१

बुटवल । अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई बन्धक बनाउन नहुने ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् ।

शुक्रबार बुटवलमा रिपोटर्स क्लब लुम्बिनीले आयोजना गरेको साक्षात्कार बोल्दै उनले सो कुरा बताएका हुन् ।

विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले अब एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताउँदै ऊर्जामन्त्री नरायमाझीले भने–‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुप-यो, नत्र लागू गर्नुप-यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन । कुर्ने एक सेकेण्ड फुर्सद छैन ।’

आगामी जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको उनले बताए ।

यसले गर्दा दैनिक एक अर्ब बराबरको घाटा लाग्न सक्ने बताउँदै उनले एमसीसी राष्ट्रहितको विपरीत नै छ भने दल, नागरिक समाज एक ठाउँ आउन आग्रह गरे ।

‘त्यसलाई खारेज गरौं र राष्ट्रिय स्रोतबाट लाइन विस्तार गरौं,’ उनले भने, ‘एमसीसीलाई बन्धक नबनाऔं । अबको एक वर्षमा उत्पादन हुने विद्युत् बेच्ने आधार तयार गरौं ।’

प्रतिक्रिया