शुक्रबार, वैशाख ७, २०८१

चितवनमा सकियो जलचरा गणना

नेपालखोज २०७७ माघ २ गते १४:२८

काठमाडौं। चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रमा आइतबारबाट सुरु गरिएको जलचरा गणना बिहीबार सकिएको छ ।

हिजो माडी नगरपालिकाको रिउ खोलामा जलचरा गणना गरिएसँगै गणनाको सम्पूर्ण काम सकिएको निकुञ्जले जनाएको छ । मौसम खराब भएपछि मध्य जनवरीलाई ध्यान दिएर चितवनमा जलचरा गणना गरिएको हो । गणनामा खटिएका बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष तथा चराविद् वासु बिडारीले चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा पाँच दिन लगाएर चरा गणना गरिएको बताएका छन् ।

यसवर्ष संख्या केही बढे पनि प्रजाति नबढेको बिँडारीले बताए। संख्या गनेर नै निकाल्न त दुई–चार दिन समय लाग्छ, तर प्रजातिहरु नबढेको अनुमान गरिसकेका छौँ, चराको संख्या भने केही बढेको देखिन्छ भन्दै उनले अध्ययनको जानकारी दिए । यसवर्ष चितवन निकुञ्ज र यसआसपासको सिमसार क्षेत्र तथा तालतलैयामा चराको अवस्था मध्यम रहेको बिँडारीले जानकारी दिए ।

नेपालका निकुञ्जहरु र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना गर्न थालिए तापनि चितवनमा केही दिन ढिला गरी चरा गणना गरिएको हो । चराविद् बिडारीले यसवर्ष दर्जन बढी तालतलैया र खोलाहरुमा जलचरा गणना गरिएको बताए । लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म गणना गरिएको थियो । साथै , माडीको रिउ खोला, बिसहजारी ताल, तमोर ताल, लामीताल, राप्ती खोलामा पनि गणना गरिएको थियो ।

बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिएको छ । चरा बस्ने कुनै क्षेत्र नछुटाई गणना गरिएको छ । बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको बिडाँरीले बताएका छन् । चितवन जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा ४० जनाको तीन समूह बनाएर चरा गणना गरिएको बर्ड एजुकेसन सोसाइटीले जनाएको हो ।

गत साल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो संख्या ८८७ रहेको छ । क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरणबाट चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गरिएको थियो । नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ ।

प्रतिक्रिया