मंगलबार, माघ १, २०८१

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

नेपालखोज २०७७ माघ २ गते १४:४५

लहान । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिरहाको सुखीपुर नगरपालिका–४ मा आयोजित शीतलहर र चिसोबाट प्रभावितका लागि न्यानो कपडा वितरण कार्यक्रममा उनले शीतलहर र चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन नपोस् भनेर सरकारले समयमै विपद् व्यवस्थापनको तयारी गरेको बताए।

Advertisement

“विगतका वर्षमा चिसो र शीतलहरका बेला अनाहकमा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो”, मन्त्री श्रेष्ठले भने, “अब यस्तो अवस्था आउन नदिन सरकार गम्भीर छ र हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिवद्ध छ ।” हरेक वर्ष चिसो मौमसका बेला बालबालिका र ज्येष्ठ नागरिक अत्यधिक समस्यामा पर्ने गरेकाले सोहीअनुसारको पूर्वतयारी गरिएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले चिसोका बेला खासगरी विपन्न, दलित र गरीब परिवार बाढीपीडित हुने गरेकाले समयमै विवरण सङ्कलन गरेर न्यायो कपडा र राहतको व्यवस्थापन गर्न स्थानीय सरकारसँग आग्रह गर्दै नागरिकको सुरक्षा गर्ने कार्यमा सरकारले कुनै कमजोरी हुन नदिने बताए । सिरहा जिल्लाको सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन र आवास कार्यक्रमलाई सरकारले तीव्ररुपमा अगाडि बढाउने उल्लेख गर्दै उनले यस्ता कार्यले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएकाले तीनै तहका सरकारले समन्वय गरी विपद्बाट नागरिकलाई जोगाउनुपर्ने बताए । सो अवसरमा मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक, आपाङ्ग, विपन्न परिवारका २०० जनालाई न्यानो सिरक वितरण गरे ।

प्रतिक्रिया