शनिबार, माघ १२, २०८१

आगामी तीन दिन देशका अधिकांश क्षेत्रको मौसम प्रभावित

नेपालखोज २०७७ माघ ३ गते ७:३३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

Advertisement

शनिबार बिहान दैनिक बुलेटिन जारी गर्दै महाशाखाले दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रको मौसम प्रभावित हुने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

त्यस्तै शनिबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ ।
प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यसैगरि राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरू साथै सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आइतबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका भूभागहरूमा साथै सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार दिउँसो भने देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली साथै अन्य प्रदेशका पहाडी भूभागमा आंशिक रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबिच देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया