बिहीबार, वैशाख १३, २०८१

बलात्कारको झुटो मुद्दा लगाउने युवती पक्राउ

नेपालखोज २०७७ माघ ३ गते १६:३२

काठमाडौं । ओखलढुंगाबाट काठमाडौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा बसिरहेको बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याएर बलात्कार गरेको उनले बताएकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

युवतीले चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले आरोपितहरुको खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा युवतीले आरोपितहरुको नाम लिनुका साथै सामाजिक सञ्जालबाट लिइएको तस्वीर पहिचान गरिन् , तर आरोपितहरुको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन उनीहरुले सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको नदेखिएपछि प्रहरीलाई युवतीमाथि नै शंका लाग्न थाल्यो । प्रहरीले बन्धक बनाएको ठाउँ देखाउन भन्यो, तर युवतीले सो पनि देखाउन सकिनन् ,त्यसपछि प्रहरीलाई दालमा केहि कालो छ भन्ने लाग्न थाल्यो ।

‘बलात्कृत भएकी भनिएका युवतीको कुरा शंकास्पद लागेपछि सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए । गजेन्द्र भन्ने राम विश्वास साह कानू लगायतले योजना बनाएकोको प्रहरीले पर्दाफास गर्यो ।

घर जग्गासम्बन्धी मुद्दामा विपक्षी रहेका राम निवास साहसहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने प्रलोभनमा युवतीले बलात्कारको झुटो मुद्दा लगाएको खुलेको डीएसपी श्रेष्ठले बताए । झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने र बलत्कृत भएको बताउनले दुवै जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर कारबाही थालेको छ ।

प्रतिक्रिया