शुक्रबार, वैशाख १४, २०८१

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : कोइराला

नेपालखोज २०७७ माघ ३ गते १८:४४

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाब र प्रभावमा नपरी निष्पक्षरुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।

केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गरे ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखे । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताए ।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तितोमिठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रष्ट व्यवस्था गरिएको बताए ।

समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी, केन्द्रीय सदसय विकास थापा, मोरङ अध्यक्ष डिल्ली कार्की, इन्सेकका प्रदेश संयोजक सोमराज थापा, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल र सञ्चारकर्मी गणेश लम्सालले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नेतर्फ राजनीतिक दलको ठूलो जिम्मेवारी रहेको धारणा राखे । रासस

प्रतिक्रिया