शुक्रबार, चैत १६, २०८०

ओलीलाई प्रचण्डको जवाफ : गणतन्त्र आउँदा रुँदै हिँड्नु भो, संसद् विघटन गरेर हँसाउँदै हिँड्नु भो

नेपालखोज २०७७ माघ ४ गते १४:४५

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा शब्दमा जवाफ फर्काएका छन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली जनताले गणतन्त्रको उत्सव मनाउँदा रुँदै हिँडेको र प्रतिनिधिसभा विघटनले जनता स्तब्ध हुँदा हँसाउँदै हिँडेर अनौठौ व्यवहार देखाएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले केही दिनअघि एक कार्यक्रममा ओलीले सभा सम्मेलनमा जोकरले झैँ हँसाउँदै हिँडेको बताएपछि शनिबार प्रधानमन्त्रीले मैले हसउँदा प्रचण्डलाई किन पीर परेको हो भनेर प्रश्न गरेका थिए ।

सोही प्रश्नको जवाफ दिँदै प्रचण्डले परिवर्तनका उपलब्धि गुमेको शोकमा आफूहरु हाँस्न नसक्ने बताए ।

‘हामी हाँसीमजाक गर्ने वातावरणमा छैनौँ, हामी गम्भीर छौँ, चिन्तित छौँ भनेको थिए । मान्छे मरेको जस्तै परिवारमा बाआमा मरेको बेलामा हामी खुसी मनाउँदैनौँ’ उनले भने, ‘त्यो बेलामा हामी हाँस्न सक्दैनौँ । हामी कमेडी गर्न सक्दैनौँ । तपाई त्यस्तो मान्छे हुनुहुँदो रहेछ ।’
उनले ओलीले हासाएको भन्दा पनि परिवर्तनका उपलब्धि गुमेकोमा आफूलाई बढी पीर परेको बताए ।

‘हिजो जनता उत्सव मनाउँदै थिए । जनताका लागि गणतान्त्र, संघीयता र समावेशिताको उत्सवमा नाचेका थिए, हामी पनि नाचेका थियौँ। त्यतिबेला तपाईं रुँदै हिँड्नु भएको थियो । आज जनता प्रतिनिधिसभा विघटनका कारण स्तब्ध छ। यस्तो बेला तपाईं हँसाउँदै हिँड्नुभएको छ अनौठो भएन र पो भनेको हुँ’, उनले भने ।

प्रतिक्रिया