मंगलबार, वैशाख ११, २०८१

काबुलमा महिला न्यायाधीशद्वयको गोली हानी हत्या

नेपालखोज २०७७ माघ ४ गते १६:०३

एजेन्सी । सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ ।

त्यहाँ जारी हिंसा अन्त्य गर्न सरकार र विद्रोही तालिबानबीच शान्ति वार्ताका प्रयासहरु भइरहेको छ । तैपनि व्यक्ति हत्याको क्रम घटेको छैन । हाल राजधानी काबुलमा उच्च तहका व्यक्तिलाई लक्षित गरी आक्रमणहरु हुने क्रम निकै बढेको सञ्चार माध्यमहरुले बताएका छन् । हतियारधारीहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको समाचारहरुले बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो समय आक्रमण भएको हो ।

न्यायाधीशद्वय सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिएका छन् एपएफ्पी समाचारमा बताइएको छ । आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौं उनीहरुका सवारी चालक घाइते भएपनि सकुशल छन् भएको अहमदले एएफ्पीलाई जानकारी दिएको खबर छ ।

अहमदका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् । काबुल प्रहरीले पनि आक्रमणको पुष्टी गरेको छ । अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए । हतियारधारीको निशानामा पत्रकार, सरकारी कर्मचारीलगायत देशका प्रमुख पदमा आसीन व्यक्तित्वहरु रहेको बताइएकोे छ ।

प्रतिक्रिया