बिहीबार, चैत १५, २०८०

प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालखोज २०७७ माघ ४ गते १९:५७

काठमाडौं । नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच नेपाल पुलिस स्कूल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाही र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गरे ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल पुलिस स्कूललाई सहकार्यका लागि एन्फाले छनोट गरेकोप्रति आभार प्रकट गर्दै समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गरे ।

फुटबलको विकासमा योगदान पु¥याउन प्रहरीमा थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले यसलाई सकारात्मकरुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे । उक्त अवसरमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुशी व्यक्त गरे ।

एकेडेमीको स्थापनापश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लबले एएफसी कप क्लब लाइसेन्सका लागि तोकिएको मापदण्डमध्ये अधिकांश मापदण्ड पूरा भई लाइसेन्स प्राप्त गर्न सहज हुनेछ ।

प्रतिक्रिया