बिहीबार, चैत १५, २०८०

ज्योति विकास बैंकद्वारा कपिलवस्तु सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान

नेपालखोज २०७७ माघ ४ गते २१:४२

काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रवर्द्धन कोष” बाट कपिलवस्तु सामुदायिक अस्पताल, कपिलवस्तुलाई एक थान बेबी वार्मर प्रदान गरेको छ । अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

कार्यक्रममा बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका जीतपुर शाखाका प्रबन्धक लक्ष्मण केसी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजयबहादुर सिंहद्वारा संयुक्तरुपमा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, बाणगंगा नगरपालिका वडा नं ४ कपिलवस्तुका वडा अध्यक्ष गणेशबहादुर क्षेत्रीका साथै विभिन्न स्थानीय निकायका पदाधिकारीहरुको उपस्थितिकाबीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट कपिलवस्तु सामुदायिक अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब पाँच सय जना प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पी.पी.ई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ।

बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रर्वधित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु. ८ लाख प्रदान गरेको थियो ।

हाल बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु.४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु. ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया