शुक्रबार, चैत १६, २०८०

सोझासाझाको १६ अर्ब नतिरी बसेका सुधीर बस्नेत फेरी हाउजिङमार्फत ठग्ने प्रयासमा

नेपालखोज २०७७ माघ ५ गते १०:३१

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतले आफ्ना निक्षेपकर्तालाई १६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकि छ । त्यो पैसा नतिरी बसेका बस्नेत यति बेला जेल बाहिर त छन् नै फेरी अनेक व्यवसायमार्फत ठग्ने धन्दामा लागेका छन् ।

बस्नेतले भेगासिटी अपार्टमेन्टका बुकिङकर्तालाई फ्ल्याट उपलब्ध गराउँछु भन्दै थप रकम उठाउन थालेका छन् । जबकी उनले निर्माण गर्ने भनेको भेगासिटी बन्छ भन्ने कुनै टुंगो छैन । बिगतको छबि राम्रो नभएकाले उनलाई तत्कालै बैंक तथा वित्त संस्थाले पत्याउने अवस्था छैन । अझ धितो राख्नका लागि आवश्यक पर्ने जग्गा जति सबै सरकारले रोक्का गरेर राखेको छ । तर, उनि भने यही समयमा पनि फ्ल्याट उपलब्ध गराउछु भन्दै अपार्टमेन्ट बुकिङकर्तासँग पैसा उठाउन थालेका छन् ।

उनले केही समयअघि केहि बुकिङकर्तालाई फ्ल्याटको भोगाधिकार दिएका छन् । अर्थात् फ्ल्याटको साचो हस्तान्तरण गरेका छन् । जबकी उनले हस्तान्तरण गरेको फ्ल्याटमा अहिलेसम्म न धारामा पानी आउने सम्भावना छ नत प्रयोग भएको पानी नै फाल्नका लागि ढलको व्यवस्था छ । अझ फ्ल्याटमा ओहोर–दोहोर गर्नका लागि लिफ्ट नै नभएको अवस्थामा समेत फ्ल्याट हस्तान्तरणको नाटक गरेका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको एक कर्मचारीका अनुसार उनी अहिले जग्गा फुकुवा गराउन धाइरहेका छन् । समितिले फुक्का गर्न सहकारी विभागलाई भनेसँगै बल्ल सम्पत्ति फुकुवा हुनेछ । तर, यता सम्पत्ति रोक्का रहेकै अवस्थामा बस्नेतले भने फ्ल्याट बाडेको प्रचार गरेका छन् ।

१६ अर्ब रकम नतिरी बस्दा पनि सर्वाेच्च अदालतले उनलाई थुनामुक्त मात्रै होइन, काम समेत गर्न देऊ भनेर आदेश दिएको छ । यही आदेशको आडमा उनले अहिले भेगासिटी अपार्टमेन्टमा निर्माणको काम अघि बढाएका छन् । तर, निर्माणको काम भने निकै सुस्त छ । निर्माण हेर्दा लाग्छ उनी अपार्टमेन्ट हस्तान्तरण गर्नेभन्दा पनि फेरी रकम उठाउने जोहो गर्दैछन् ।

अपार्टमेन्ट निर्माण सम्पन्न हुने कुनै सुरसार छैन । यता ८ वर्ष अघि फ्ल्याट खरिदका लागि भनेर बुकिङकर्ताले अहिलेसम्म न सावा न ब्याज पाएका छन् । यति नै बेला बस्नेत भने अपार्टमेन्ट निर्माण गर्छु भन्दै थप रकम उठाउने प्रयास गर्दैछन् ।

भेगासिटी अपार्टमेन्टमा ४० अपाटर्मेन्ट तयार भएको र ३५ वटामा भोग हस्तान्तरण गरेका छन् । २ सय ६० जनाले बुकिङ गरेकामा अहिले जम्मा ८० जनाले मात्रै अपार्टमेन्ट लिन लागेका छन् । अन्य फिर्ता जान खोजेपनि उनिहरुले रकम भने पाएका छैनन् । फिर्ता जानेलाई रकम दिने कुनै योजना नभएपनि फ्ल्याट खरिद गरि बस्न चाहनेसँग भने उनले रकम उठाउनु पर्ने बताउँदै आएका छन् ।

स्रोतले भन्यो ‘अपार्टमेन्टमा पहिला तिरेको मूल्यमा उपलब्ध गराउन नसक्ने भन्दै रकम थप्न लगाइरहेका छन्, तर यता निक्षेपकर्तालाई भने बिना ब्याजै रकम फिर्ता गर्छु भनिरहेका छन् ।’

चर्काे ब्याजको आशमा ओरेन्टल सहकारीमा पैसा राखेका निक्षेपकर्ताले अहिलेसम्म आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । निक्षेप फिर्ता नदिएको र भेगासिटी अपार्टमेन्टका बुकिङकर्तालाई लामो समय अपार्टमेन्ट नदिएका कारण लामो समय जेलमा रहेका बस्नेत गत वर्षको वैशाखदेखि थुनामुक्त भएका छन् ।

अहिले भने उनले आफ्नो काठमाडौं, भक्तपुर, दाङ, विराटनगर, पोखरा, चितवनका जग्गा फुकुवा गर्न लागेका छन् । अदालतले जग्गा फुकुवा गरि काम गर्न दिन भनेपनि उनको जग्गा अहिलेसम्म फुकुवा भने हुन सकेको छैन । यता निक्षेपकर्ताको रकम फिर्ता दिनका लागि उनले आवेदन माग समेत गरेका छन् । जसमा अहिलेसम्म २ अर्ब २ करोड रुपैयाँको आवेदन आएको छ । उनी अहिले सहकारीका निक्षेपकर्तालाई सावामात्रै फिर्ता गर्ने सोचमा छन् । त्यसका लागि रकम नै फिर्ता गर्नेभन्दा पनि विभिन्न स्थानमा रहेका जग्गा निक्षेपकर्ताहरुलाई दिने उनी बताउँछन् ।

ओरेन्टल सहकारीको १६ अर्ब दायित्व देखिएपनि सुधीर जम्मा ४ अर्ब १० करोड मात्रै दायित्व भएको दाबी गर्दै छन् । उनीबाट थप मानिसहरु नठगिउन् भनेर उपभोक्ता त सचेत हुनपर्छ नै राज्यका निकायले पनि यसमा सुक्ष्म अध्ययन गरिरहनु जरुरी छ ।

प्रतिक्रिया